काठमाडौं,२६ मंसिर– एमालेबाट १०४ जनाले उम्मेदवारी दिएकामा सूर्य चिह्नबाट लड्ने हृदयेश त्रिपाठी समूहका ४ जना पनि पर्छन् । सोमबार अबेरसम्म एमालेले ७६ सिट जितिसकेको छ भने बाँकी ५ सिटमा अग्रता छ । माओवादीबाट ५९ जनाले उम्मेदवारी दिएकामा ३४ ले जितिसकेका छन् ।
दुईले जित्ने मतान्रसहितको अग्रता कायम गरेका छन् । उम्मेदवारी दिएमध्ये एमालेका तर्फबाट २१, माओवादी तर्फका २३ र त्रिपाठी समूहका दुईले चुनाव हारेका छन् । वाम गठबन्धनसँग राष्ट्रिय जनमोर्चाले प्यूठान र राप्रपाले झापा–३ मा सहकार्य गरेका थिए । ती स्थानमा दुवै दलले एक/एक सिट जितेका छन् ।
हार्नेमध्ये दुवै दलबाट अधिकांश प्रदेश २ का उम्मेदवार छन् । प्रदेश २ का ३२ सिटमध्ये एमालेले १४ मा उम्मेदवारी दिएको थियो । त्यसमध्ये सिरहा–१ मा लीलानाथ श्रेष्ठ र धनुषा–४ बाट रघुवीर महासेठले मात्र जिते । एमालेका १२ जनाले हारे । प्रदेश २ मा एमालेभन्दा माओवादीका उम्मेदवार बढी थिए । १८ सिटमा माओवादीले उम्मेवारी दिएकामा ४ सिट जितेको छ । अन्य एक सिटमा जित्ने गरी अग्रता छ । वाम गठबन्धनले प्रदेश २ मा ७ सिट मात्र जित्ने देखिएको छ । ३२ सिटमध्ये ७ मा मात्र खुम्चिनु प्रदेश २ मा गठबन्धनका लागि निकै ठूलो धक्का हो ।
तर अन्य ६ वटा प्रदेशमा भने एमाले र माओवादी दुवै बलियो रूपमा स्थापित भएका छन् । प्रादेशिक रूपमा विश्लेषण गर्दा प्रदेश १ का २८ सिटमध्ये एमालेका तर्फबाट २० उम्मेदवार थिए । त्यहाँ १६ जनाले जितिसकेका छन् भने सनुसरी–३ मा अग्रता छ । प्रदेश १ मा तीन सिटमा एमालेले हार्यो । मोरङ–२, सुनसरी–४ र उदयपुर–२ मा एमाले उम्मेदवार पराजित भए । प्रदेश १ मा माओवादीका ७ जना उम्मदेवार थिए । त्यसमध्ये ६ जनाले जिते । सुनसरी–२ मा हिमाल सुवेदीले हारे ।
प्रदेश ३ मा एमालेका २२ जनाले उम्मेदवारी दिएकामा २० ले जितेका छन् । काठमाडौं–४ र रसुवामा मात्र एमाले उम्मेदवार पराजित भए । प्रदेश ३ मा माओवादीले ११ जनाको उम्मेदवारी दिएकामा ७ ले जितेका छन् । काठमाडौंबाट उम्मेदवारी दिने माओवादीका तीनै जना उम्मेदवारले हारे । त्यस्तै भक्तपुर–१ मा पनि माओवादी उम्मेदवारले जित्न सकेनन् । काठमाडौं उपत्यकाबाट उम्मेदवारी दिएकामध्ये ललितपुरमा पम्फा भुसालबाहेक अन्य ४ जना नै हार्दा माओवादीको सिटमा क्षति पुग्यो । आजको कान्तिपुरमा खबर छ ।
प्रदेश ४ मा एमालेका १३ जनाले उम्मेदवारी दिएकामा सबैले जित्ने सम्भावना छ । ११ जनाले जितिसकेका छन् । मतगणना जारी रहेका स्याङ्जाका दुवै क्षेत्रमा एमालेका उम्मेदवारको अग्रता छ । प्रदेश ४ मा माओवादीले ५ जनाको उम्मेदवारी दिएकामा ३ जनाले जिते ।
गोरखा–२ र नवलपरासी पूर्व २ मा माओवादी उम्मेदवारले हारे । प्रदेश ५ मा एमालेले १६ जनाको उम्मेदवारी दिएकामा १२ जनाले जिते । चार जनाले हारे । त्यसमा वामदेव गौतम, पशुपतिदयाल मिश्र, ईश्वरदयाल मिश्र र ओमप्रकाश यादव छन् । मिश्रद्वय त्रिपाठी समूहबाट एमालेको चिह्न लिएर उठेका उम्मेदवार हुन् । प्रदेश ६ मा एमालेका ६ जनाले उम्मेदवारी दिएकामा सबैले जिते । माओवादीबाट ६ जनाले उम्मेदवारी दिएकामा पाँच जनाले मात्र जिते ।
एक जनाले हारे पनि माओवादीकै बागी उम्मेदवारले जिते । प्रदेश ७ मा एमालेले १२ जनाको उम्मेदवारी दिएको थियो । त्यसमा ९ जनाले जितेका छन् । कैलाली–१ मा मदनकुमारी शाहले हारिन् भने गणना जारी रहेका कैलाली–२ र कञ्चनपुर–३ मा एमाले उम्मेदवारको अग्रता छ । प्रदेश ७ मा माओवादीका ४ जनाले उम्मेदवारी दिएकामा ३ जनाले जिते भने डडेलधुरामा माओवादीका खगराज भट्टले हारे ।

