काठमाडौं,१० असार । सात सय ५३ स्थानीय तहले आज आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि बजेट प्रस्तुत गर्दैछन् । कानुनी व्यवस्था अनुसार स्थानीय तहका लागि बजेट पेश गर्ने आज अन्तिम दिन हो ।
अन्तरसरकारी वित्त व्यवस्था ऐनको दफा २१ मा स्थानीय तहले असार १० गतसम्म नीति, कार्यक्रम र बजेट प्रस्तुत गनुपर्ने प्रावधान छ । असार ६ मा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७ सय ५३ वटै स्थानीय सरकारलाई कानुनी प्रावधान अनुसार आआफ्ना सभामा बजेट पेस परिपत्र गरेको थियो ।
कतिपय स्थानीय तहले भने यसअघि नै बजेट प्रस्तुत गरेर गाउँ तथा नगरसभामा छलफल भइरहेको छ । सोही अनुसार १५ जेठमा संघीय सरकारले संसदमा प्रस्तुत गरेको बजेटमा स्थानीय तहलाई स्थानीय समानीकरण अनुदान ८९ अर्ब ९५ करोड, ससर्त अनुदान १ खर्ब २३ अर्ब ८७ करोड र राजस्व बाँडफाँटतर्फ १ खर्ब ३० अर्ब ८९ करोड रुपैयाँ प्रदान गरेको छ ।

