काठमाडौँ,२६पुस। साझा यातायातको २० वटा बस केही दिनमै नेपालमा आइपुग्ने भएको छ । साझा यातायात सहित काठमाडौं तथा ललितपुर महानगर महानगरपालिकाको लगानीमा थप २० वटा बस नेपाल ल्याउन लागिएको हो ।
नयाँ बीस बस निर्माण भइसकेको र अबको केही दिनमा बस नेपाल आइसक्ने साझा यातायातले जनाएको छ । साझाका अनुसार काठमाडौँको सहरी यातायात व्यवस्थित बनाउनका लागि ठूला बसको आवश्यकता महसुस भएकाले थप बीस ठूला बस ल्याउन लागिएको हो ।
नयाँ ल्याउन लागिएका सबै बस आइसकेपछि रुट इजाजत लिने प्रक्रिया सुरु हुनेछ । साझाले पुरानै रुटमा थप्ने र आवश्यक देखिए केही नयाँ रुटमा पनि सेवा थाल्ने योजना बनाएको छ । अब आउने बस पनि अन्तर्राष्ट्रिय मापदण्ड अनुरुपका सबै बस अपांगमैत्री हुने साझाले जनाएको छ ।
जम्मा ४० सिट रहने उक्त बस शारीरिक रुपमा अशक्त रहेका व्यक्तिका लागि बसको पछिल्तिरको ढोकाबाट ह्विलचेयरसमेत राख्न र निकाल्न मिल्ने गरी निर्माण गरिएको छ । बस आपूर्तिको सबै जिम्मा भारतीय कम्पनी अशोक लेल्यान्डले पाएको थियो ।
काठमाडौं महानगरपालिकाले यो वर्ष साझालाई नयाँ बस किन्ने गरी ५ करोड रुपैयाँ दिएको थियो । ललितपुर महानगरपालिकाले पनि एक करोड सेयर लगानी गरेको छ ।

