सर्वोच्चमा आजदेखि अतिरिक्त समयमा पनि इजलास बस्ने

काठमाडौं,१ मंसिर–  मुद्दाको संख्या बढी भएपछि सर्वोच्च अदालतमा आजदेखि अतिरिक्त समय इजलास बस्ने भएको  छ । कायम रहेका न्यायाधीशबाटै अदालतमा विचाराधीन मुद्दा फछ्र्यौट गर्नुपर्ने अवस्था रहेको भन्दै सर्वोच्चले अतिरिक्त इजलास कायम गर्ने निर्णय गरेको हो ।
सर्वोच्चका प्रवक्ता नारायणप्रसाद पन्थीले आजदेखि अतिरिक्त समय इजलास बस्ने गरी निर्णय भएको जानकारी दिनुभयो । आजबाटै अतिरिक्त समय इजलास लाग्ने भन्दै उहाँले बिहान साढे ९ बजे नै न्यायाधीश आउनुपर्ने निर्णय भएको बताउनुभयो ।
उहाँका अनुसार अघिल्लो दिनको आदेश तयार पार्नुपर्ने अवस्थामा आदेश तयार पारी साढे १० बजेबाट न्यायाधीश इजलासमा बस्नु पर्नेछ ।
सर्वोच्च अदालत नियमावली २०७४ को नियम ३(१) अनुसार सर्वोच्चमा शुक्रबार बिहान १० बजेदेखि ४ बजेसम्म इजलास बस्ने व्यवस्था छ । अन्य बारहरूमा भने दैनिक १० बजेदेखि ५ बजेसम्म इजलास बस्ने उल्लेखित छ ।
यस्तै, नियम ४(३) अनुसार प्रधानन्यायाधीशले कार्यालय समयको अतिरिक्त समय र बिदाको दिनमा समेत इजलास तोक्न सक्ने व्यवस्था रहेको छ ।
सर्वाेच्चले केही समयअघि अतिरिक्त इजलास सञ्चालन गर्ने गरी सर्वोच्च अदालत नियमावली परिमार्जन गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here