सरकारको लगानीअनुरुप शैक्षिक गुणस्तर आवश्यकः मन्त्री अधिकारी

पोखरा, ११ फागुन। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले सरकारले शैक्षिक क्षेत्रमा गरेको लगानीअनुरुप गुणस्तर आवश्यक भएको बताउनुभएको छ ।

पोखरामा आयोजीत एक कार्यक्रममा उहाँले शिक्षक, अभिभावक र विद्यार्थीको त्रिकोणात्मक प्रयासबाट शैक्षिक स्तर माथि उठाउनुपर्ने बताउनुभयो ।

शैक्षिक क्षेत्रको विकासका लागि स्थानीय तहको महत्वपूर्ण भूमिका रहने बताउँदै मन्त्री अधिकारीले आवश्यक भौतिक संरचना निर्माणका लागि बजेट एवं दक्ष शिक्षकका लागि सङ्घीय र प्रदेश सरकारको सहयोग रहने बताउनुभयो ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य तीव्ररुपमा भइरहेको बताउँदै उहाँले आगामी दुई वर्षको अवधिमा पोखराबाट सिधै विदेशमा उडान हुने विश्वास व्यक्त गर्नुभयो ।

विमानस्थलको धावनमार्ग, ट्याक्सी पार्किङ निर्माणको अन्तिम चरण पुगेको पुग्नुका साथै हालसम्म २८ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको जानकारी दिँदै मन्त्री अधिकारीले विमानस्थल सञ्चालनमा आएसँगै यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण सहयोग पुग्ने बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here