काठमाडौं, २६ जेठ– व्यवस्थापिका संसदको बैठक आजपनि बस्दै छ । बिहान ११ बजेका लागि बोलाइएको बैठकमा आगामी आर्थिक वर्षको आय व्यवको अनुमानित विवरणमाथि छलफल हुने छ । यसअघि हिजोको संसद बैठकले निर्वाचन ऐन संशोधन गरेको थियो ।
सरकारले राजपालाई निर्वाचनमा सहभागी गराउन भन्दै स्थानीय तह निर्वाचन ऐनको दफा १८ संशोधनको प्रस्ताव ल्याएको थियो । राजपाको मागअनुसार सरकारले संसद्बाट हिजो स्थानीय तह निर्वाचन ऐनको पहिलो संशोधन गरेको छ ।
ऐनको १८ को उपदफा १ मा रहेको व्यवस्थामा स्थानीय तहको निर्वाचनमा मनोनयनपत्र दाखिला गर्ने अन्तिम मितिभन्दा १५ दिनअघि आयोगमा दलले उम्मेदवारका लागि आवश्यक पर्ने आधिकारिक हस्ताक्षर बुझाउनुपर्ने व्यवस्था थियो । संशोधनको क्रममा १५ दिनअगावै भन्ने शब्द हटाइएको छ ।
यसो गर्दा १४ असारको निर्वाचनका लागि राजपाले आफ्ना उम्मेदवारको आवश्यक आधिकारिक हस्ताक्षर बुझाउन मिल्नेछ । उक्त प्रस्ताव पारित भएपछि राजपालाई निर्वाचनमा सहभागी गराउन सहज हुने छ । आज बस्ने संसद बैठकमा नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई आजको संसद बैठकमा बधाइ दिने कार्यक्रम छ ।
एमालेका मुख्य सचेतक भानुभक्त ढकालका अनुसार नयाँ प्रधानमन्त्री देउवालाई दलहरूले शुभकामना दिने छन् । संसदको बैठक बिहान ११ बजे अन्तर्रा्ष्ट्रिय सम्मेलन केन्द्रमा बस्ने कार्यक्रम छ । माओवादी केन्द्र, राप्रपा, फोरम लोकतान्त्रिक, संघीय समाजवादी फोरम नेपाल, राजपा नेपालसहितका साना दलहरूको समर्थनमा दुई दिन अगाडि कांग्रेस सभापति देउवा प्रधानमन्त्री बनेका हुन् ।

