काठमाडौं, १६ असोज– आज विश्व बसोवास दिवस, विश्वभर विभिन्न कार्यक्रमको आयोजना गरि मनाइँदै छ। सन् १९८६ को संयुक्त राष्ट्रसंघीय मानव बसोबास कार्यक्रम (युएन ह्याबिट्याट) को घोषणा अनुरुप प्रत्येक वर्ष अक्टोबर महिनाको पहिलो सोमबार विश्व बसोवास दिवस मनाउन सुरु गरिएको हो ।
नेपालमा भने सन् २००४ बाट मनाउन थालिएको हो । यो दिवसले आवासका बारेमा जागरुक बनाउन मदत पुर्याउने सरोकारवालाहरुको भनाइ छ ।
नेपालमा बढ्दो अब्यवस्थित शहरीकरणलाई व्यवस्थित गराउनु मुख्य चुनौती बन्दै गएको छ। नेपाल भूकम्पलगायत अन्य प्रकोपजन्य जोखिममा रहेको अवस्थामा आपत विपत् पर्दा सबैलाई सहज एवं सुरक्षित हुने गरी आवास निर्माण गर्नुपर्नेमा सरकारको जोड छ ।
सन् २००० मा नेपालको कूल जनसंख्याको १७ प्रतिशत मानिस शहरमा बस्थे भने अहिले शहरमा बसोबास गर्ने मानिसको संख्या कूल जनसंख्याको ४२ प्रतिशत रहेको शहरी विकास मन्त्रालयले जनाएको छ ।

