एजेन्सी । विश्वकप क्रिकेटमा आज दुई खेल हुँदै छन् । पहिलो खेलमा बलियो मानिएको भारतको अफगानिस्तानले सामना गर्नेछ । उक्त खेल साउथह्याम्पटनको रोज बल रंगशालामा नेपाली समयअनुसार दिउँसो सवा ३ बजे खेल सुरु हुनेछ । दोस्रो खेल दुई पुराना प्रतिद्वन्द्वी न्युजिल्यान्ड र वेस्ट इन्डिजबीच प्रतिस्पर्दा हुने छ । उक्त खेल म्यानचेस्टरस्थित ओल्ड ट्राफोर्डमा साँझ सवा ६ बजे सुरु हुनेछ ।
विश्वकपमा भारत दुई पटकको उपाधि विजेता टोली हो । पहिलो संस्करणदेखि नै विश्वकपमा सहभागिता जनाउँदै आएको भारतले सन् १९८३ र सन् २०११ मा उपाधि चुमेको थियो । अफगानिस्तानको भने विश्वकपमा यो केवल दोस्रो सहभागिता हो । अफगानिस्तानले यसअघि सन् २०१५ को विश्वकप मात्र खेलेको थियो । जारी विश्वकपमा हालसम्म अपराजित दुई टोलीमध्ये भारत पनि एक हो ।
साँझको खेलमा अर्को अपराजित टोली न्युजिल्यान्डले वेस्ट इन्डिजको सामना गर्दै छ । पाँच खेल खेलेको वेस्ट इन्डिजले भने एक खेल मात्र जित्न सकेको छ । तीन खेलमा पराजित भएको वेस्ट इन्डिजको एउटा खेल भने वर्षाका कारण रद्द भएको थियो । वेस्ट इन्डिज पहिलो र दोस्रो विश्वकपको उपाधि विजेता हो भने न्युजिल्यान्ड साविक उपविजेता टोली हो ।

