विदेशमा लुकाएको सम्पति राष्ट्रिय करण गरः अध्यक्ष कमल थापा

काठमाडौं,१३ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपालीले विदेशमा लुकाएर राखेको सम्पतिलाई राष्ट्रियकरण गर्न र शङ्कास्पद व्यक्तिको बैंक खाता तत्काल रोक्का गरी अवैध कारोबारमा संलग्न व्यक्तिलाई कानुनबमोजिम कारबाही गर्न माग गर्नुभएको छ । रिपोर्टर्स क्लबको अन्तक्रिया कार्यक्रममा उहाँले देशको ढुकुटीलाई विदेशकमा राख्नेहरुलाई कडा कारबाही हुनुपर्ने उल्लेख गर्नुभयो ।

उहाँले भ्रष्टाचार नियन्त्रणका लागि उच्चस्तरीय छानबिन आयोग गठन गरी २०४७ सालपछिका राजनीतिज्ञ, प्रशासकलगायतको सम्पत्ति छानबिन गर्नुपर्नेमा जोड दिनुभयो । थापाले त्यस्ता आयोगलाई स्वतन्त्र र निष्पक्षका साथ काम गर्न सरकारले सहयोग गर्नुपर्ने बताउनुभयो । सर्वोच्च अदालतको आदेशबमोजिम एनसेलले तिर्नुपर्ने पूँजीगत लाभकरलगायत सबै कर सरकारले असुल गर्नुपर्नेमा जोड दिँदै उहाँले वाइड बडी प्रकरणमा संलग्न तथा कर छली प्रकरणमा संलग्नलाई पनि दण्डित गर्नुपर्ने बताउनुभयो ।
देश टुक्रयाउन खोज्ने तत्वलाई कडा कारबाही हुनुपर्ने आवश्यकता औल्याउँदै अध्यक्ष थापाले कालापानी, लिपुलेक र सुस्तालगायत क्षेत्रमा अतिक्रमित नेपाली भूमि फिर्ता लिन कुटनीतिक पहल गर्न र सन् १९५० को शान्ति तथा मैत्री सन्धि पुनरावलोकन गरी खुला सीमा व्यवस्थित र नियमन गर्न पनि माग गर्नुभयो । राजसंस्थासहित सबै राजनीतिक शक्ति अटाउने व्यवस्था कायम गर्न अविलम्ब सर्वपक्षीय गोलमेच सम्मेलन गर्न र सङ्घीयताबारे जनताको प्रत्यक्ष अभिमत बुझ्न राष्ट्रिय जनमत संग्रह गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here