विकास निर्माणको अनुगमन गरिन्छ : मुख्यमन्त्री राई

विराटनगर, १० चैत: प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले भौतिक निर्माण कार्यको अनुगमनका लागि प्रदेश अनुगमन समिति तयार गरिने बताउनुभएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा आज आयोजित आर्थिक वर्ष २०७५÷७६ को दोस्रो चौमासिक प्रगति समीक्षा बैठकमा उहाँले प्रदेशमा निर्माण हुने र भएका कार्यहरुको अधिकार सम्पन्न समितिले सुक्ष्मढङ्गले अनुगमन गरिने बताउनुभयो ।

भौतिक पूर्वाधार विकास मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नुभएका राईले सडक, सिँचाइ, कृषिमा प्रतिफल आउने गरी काम सम्पन्न गरी जनताको मुहारमा खुशी ल्याउन सम्बन्धित मन्त्रालयअन्तर्गतका कार्यालयलाई निर्देशन दिनुभयो । प्रदेश सरकार गठन भएको विगत एक वर्षमा संरचना, कानून आदि निर्माणमा समय लागेको बताउँदै उहाँले सरकारको विकास निर्माण कार्यमा बजेट विनियोन गर्न कर्मचारी समायोजनले समस्या उत्पन्न भएको धारणा व्यक्त गर्नुभयो । उहाँले प्रदेशको विकास र समृद्ध कायम कर्मचारीको महत्वपूर्ण भूमिका हुने चर्चा गर्दै जिम्मेवारी लिई समयमा तोकिएको विकास निर्माणका कार्य सम्पन्न गर्ने कर्मचारीलाई आगामी दिनमा मूल्याङ्क गरी पुरस्कृतसमेत गरिने बताउनुभयो ।

प्रदेश प्रमुख सचिव केदार न्यौपानेले जनताको आकांक्षा जोडिएका मन्त्रालयको नतिजा देखाउन गरी काम गर्नु निर्देशन दिनुभयो । समीक्षा बैठकमा भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव सागरकुमार राईले ४२ वटा कार्यालय रहेको मन्त्रालयमा दक्ष कर्मचारीको व्यवस्थापन नहुँदा अपेक्षित प्रगति गर्न नसकेको बताउनुभयो ।

महाशाखा प्रमुख अशोककुमार साहले मन्त्रालयअन्तर्गत कार्यालयले तोकिएको समयमा लक्ष्यअनुसार कार्य पूरा गर्ने विश्वास व्यक्त गर्नुभयो । बैठकमा सिँचाइ विकास डिभिजन कार्यालय झापा, इलाम, पाँचथर ताप्लेजुङ, मोरङ, धनकुटा, भोजपुर, संखुवासभा सुनसरी, तेह्रथुम, उदयपुर, खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु, कन्काइ सिँचाइ व्यवस्थापन कार्यालय झापा, चन्दा मोहना सिँचाइ मोरङ, भूमिगत सिँचाइ मोरङ, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, सुनसरी, धनकुटा, ओखलढुङ्गा र पाँचथरले आ–आफ्नो कार्यालय प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here