‘लाहुरे’ राजनीति

काठमाडौं,५ मंसिर– बेलायती सेनाबाट अवकास पाएपछि राजनीतिमा आएका खमवीर गर्बुजा अहिले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ कांग्रेसबाट उम्मेदवार छन् । २०७० को संविधानसभा निर्वाचनमा पराजित भएपनि जिल्लामा पार्टी सभापतिको जिम्मेवारीमा सक्रिय भएका उनी यसपटक पुन: उम्मेदवार बनेका हुन् ।

‘लाहुरे’ पृष्ठभूमिबाट चुनावी प्रतिस्पर्धामा उत्रिएका उनी जिल्लामा एक्ला उम्मेदवार भने होइनन् । प्रदेश सभा ‘ख’ को प्रत्यक्षमा कांग्रेसबाट यमलाल फगामी उठेका छन् । भारतीय सेनाबाट अवकास पाएपछि राजनीतिमा प्रवेश गर्नेबित्तिकै उनले पार्टीबाट टिकट पाए । त्यस्तै कांग्रेस र राप्रपाको गठबन्धनबाट प्रदेश ‘क’ मा राप्रपाका भीमप्रसाद गौचन उम्मेदवार छन् । पञ्चायतकालमा दरबारसँग निकट सम्बन्ध राख्ने र  धेरै विवादमा मुछिएका उनी अहिले पनि चुनावी प्रस्पिर्धामा छन् । गौचन भारतीय सेनाबाट जागिर अवधि पुरा नहुँदै फर्किएका हुन् ।

म्याग्दीको राजनीतिमा पञ्चायतकालदेखि नै ‘फौजी’ पृष्ठभूमिका व्यक्तिहरुको दबदबा छ । राजनीतिक पार्टीदेखि सामाजिक संघसंस्थासम्म यही पृष्ठभूमिका व्यक्तिहरुको पकड रहिआएको छ । बेलायती, भारतीय र नेपाली सेनाबाट अवकास पाएकाहरु सामाजिक संघसंस्था र राजनीतिमा जोडिएका छन् । किन उनीहरु राजनीति आए त ? ‘मैले बेलायतका सुखसुविधा छोडेर जनताको सेवा गर्न आएको छु, आफ्नो सीप र क्षमताको प्रयोग जनतालाई नै प्रयोग गर्छु,’ म्याग्दीमा गाउँघरमा मत माग्दै गर्बुजा यसै भन्ने गर्छन् ।

‘फौजी संगठनमा काम गरेका मान्छे अलिक अनुशासित हुन्छन्, आर्थिक अवस्था पनि अरूको भन्दा सबल हुन्छ,’ स्थानीय म्याग्दी बहुमुखी क्याम्पसका प्राध्यापक तारानाथ शर्मा भन्छन्, ‘लाहुरेहरूको जिल्ला भएकाले उनीहरुको भोट तान्न पनि दलहरुले त्यस्तालाई अघि सार्ने गरेका छन् ।’ उनका अनुसार फौजी पृष्ठभूमिका व्यक्तिहरुको सामाजिक संलग्नता पनि राम्रो छ । त्यसैले उनीहरु छिटै दलहरुको पहुँचमा पुग्छन् ।  आजको कान्तिपुरमा खबर छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here