बर्दिया,१७ असोज– बर्दिया गुलरिया नगरपालिकाको लालपुरमा लगाइएको कर्फ्यु ८ बजेपछि हटाइएको छ । आइतबार साँझको ताजिया बिर्सजन र मूर्ति बिसर्जनमा निस्केका दुवै समुहबीच झडपपछि लगाइएको कर्फ्यु आज बिहान ८ बजेपछि हटाइएको हो ।
तनाव शान्त पार्न स्थानीय प्रशासनको पहलमा हिजो भएको वार्ता सहमतिमा पुगे पनि कर्फ्यु भने आजबाट मात्रै हटाइएको बर्दियाका प्रमुख जिल्ला अधिकारी नारायण भट्टराईले जानकारी दिनुभयो ।
बैठकमा स्थानीय प्रशासनले छानबिन समिति बनाई घटनाको छानबिन गर्ने र समितिको प्रतिवदेनका आधारमा दोषी देखिएकालाई कारबाही गर्ने सहमति भएको उहाँले बताउनुभयो । दुई पक्षबीचको झडपमा घाइते भएका ११ जनालाई सरकारले उपचार गरिदिने सहमति भएको छ ।
स्थानीय प्रशासनले स्थितिलाई थप तनावग्रस्त हुन नदिन हिजो बिहान १० बजेदेखि स्थानीय प्रशासनले लालपुरदेखि ५ सय मिटर पूर्व, पश्चिम, उत्तर र दक्षिण चारैतिर कर्फ्यु आदेश जारी गरेको थियो ।

