काठमाडौं,३१ बैशाख–राष्ट्रिय झण्डाको आकार र स्वरुप फरक परेको भन्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले चार जना कर्मचारीलाई स्पष्टिकरण सोधेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा गत शनिबार जानकी मन्दिर परिसरमा राखिएको राष्ट्रिय झण्डाको आकार र प्रकार किन फरक राखिएको भन्दै मन्त्रालयले आज चार जनालाई स्पष्टिकरण सोधेको हो ।
मन्त्रालयले २ नम्बर प्रदेशका निमित्त मुख्यसचिव हरि फुयाँल, आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव देवीराम भण्डारी, धनुषाका प्रमुख जिल्ला अधिकारी गोपाल पराजुली र जनकपुर उपमहानगरपालिकाका कार्यकारी अधिकृत मदन भण्डारीलाई सोमबारको मन्त्री स्तरीय निर्णयबाट स्पष्टिकरण सोधिएको सामान्य प्रशासन मन्त्रीका स्वकीय सचिव वसिम आलमले जानकारी दिनुभयो ।
मन्त्रालयले उनीहरुलाई जानकी मन्दिरमा नेपालको राष्ट्रिय झण्डा, नेपालको संविधान २०७२ को अनुसूची–१ मा उल्लेख भएअनुसार आकार र रुपमा नभई फरक आकार र रुपमा देखिन आएको र निर्धारित स्वरुप भन्दा फरक आकार भएको झण्डा बनाउन किन दिइयो ? भनेर सोधेको छ ।
ती अधिकृतहरुलाई मन्त्रालयले ‘के–कसरी र कसको लापारबाहीले फरक आकार र रुपको राष्ट्रिय झण्डा राखिएको हो ? तीन दिनभित्र लिखित जवाफ दिनुहोला ।’ भनेर सोधेको छ । मोदी भ्रमणको क्रममा जानकी मन्दिर परिसरमा राखिएको नेपाली झण्डाको आकार र प्रकार फरक भएको भन्दै सामाजिक सञ्जालमा विरोध भएको थियो ।

