भक्तपुर, १७ असोज: स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा सुरेन्द्रकुमार यादवले शिक्षा र स्वास्थ्य स्थानीय तहलाई दिन नहुने बताउनुभएको छ ।
विश्व मुटुरोग दिवसको अवसरमा आज भक्तपुरको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा आयोजना गरिएको कार्यक्रममा बोल्दै उहाँले स्थानीय तहले शिक्षा र स्वास्थ्यको जिम्मा लिन नसक्ने दाबी गर्दै यसलाई जिल्लामै राख्नुपर्ने बताउनुभयो ।
देशको २४ सय वडामा कुनै पनि स्वास्थ्य संस्था नरहेकाले अब ती वडामा स्वास्थ्य संस्था सञ्चालन गर्न सरकार लागिरहेको बताउँदै कुनै पनि संस्था सञ्चालन गर्न जागिरे मानसिकता त्यागेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
देशमा ८० प्रतिशत जनता गाउँमा रहेको तर गाउँमा १० प्रतिशत डाक्टर पनि नजाने गरेको बताउँदै राज्यमन्त्री यादवले यस केन्द्रका लागि भने आवश्यक डाक्टर पठाउन पहल गर्ने बताउनुभयो ।
मुटु रोग, क्यान्सर, मिर्गौला, कलेजोजस्ता विभिन्न रोग बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै उहाँले धूमपान र मद्यपानको सेवन गर्ने शिक्षित व्यक्तिको सङ्ख्या बढ्नु थप चिन्ताको विषय रहेको बताउनुभयो ।
कार्यक्रममा केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठले यस अस्पतालमा अहिले मिर्गौला डायोलोसिसका लागि ६००, मिर्गौला प्रत्यारोपणका लागि ४०० र कलोजो प्रत्यारोपणका लागि १८ जना बिरामी पालो कुरेर बसेको बताउनुभयो ।
बिरामीको अत्यधिक चाप बढे पनि जनशक्ति र ठाउँको अभावका कारण बिरामीलाई पालो कुराउनु पर्ने अवस्था आएको बताउँदै उहाँले सरकारले ठाउँ र आवश्यक जनशक्ति उपलब्ध गराए अहिलेको भन्दा तेब्बर सेवा दिन सकिने बताउनुभयो ।

