गोरखा,१९ बैशाख । पालुङटार नगरपालिका–४ कुमाल गाउँमा जन्ती आएका एक युवकको कुटपिटबाट मृत्यु भएको छ । जन्ती आएका लमजुङ राइनसका ३४ वर्षीय विष्णुबहादुर कुमालको कुटपिटबाट मुत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
‘बेहुला पक्षबाट आएका युवा र बेहुली पक्षका युवाबीच झगडा हुँदा कुमालको मुत्यु भएको प्रहरी उपरीक्षक भोला रावलले जानकारी दिनुभयो ।
घटनामा संलग्न भएको आरोपमा १५ जनालाई नियन्त्रणमा लिइएको छ । लमजुङको राइनासदेखि पालुङटारको कुमाल गाउँमा आएको जन्तीमाथी स्थानीय युवाको समूहले आक्रमण गरेको हो ।
बुधबार राति भएको आक्रमणमा परी गम्भीर घाइते कुमालको उपचारका क्रममा पोखरामा मुत्यु भएको प्रहरी उपरीक्षक रावलले बताउनुभयो ।
घाइते कुमाललाई पोखराको गण्डकी मेडिकल कलेजमा उपचारका लागि भर्ना गरिएको थियो। घटनामा संलग्न अन्यको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
युवतीको निहुँमा भएको बताइएको छ ।

