गोरखा, १७ असोज:गोरखाका एक कृषकले मौरीपालनबाट मासिक पाँच लाख रुपैयाँ आम्दानी गर्दै आएका छन् । गोरखा नगरपालिका–११ स्थित तेह्रकिलोका कृषक तुलसीप्रसाद देवकोटाले मौरीपालन गरी मह तथा मौरीसहितको घार बेचेर राम्रो आम्दानी गर्दै आउनु भएको हो ।
स्थानीय जातका मौरीपालन गरी मह तथा मौरीको घर बेच्न थाल्नुभएको करीब नौ वर्ष भइसकेको छ । देवकोटा माउण्टेन हनी उत्पादन तथा प्रशोधन केन्द्र खोलेर अहिले स्थानीय सेरेना जातको मौरी पाल्दै आउनुभएको छ । उत्पादन भएको मह अहिले मानाको रु ८०० का दरले बिक्री हुने गरेको देवकोटाको भनाइ छ ।
मौसमअनुसार मौरीले मह उत्पादन गर्ने बताउँदै देवकोटाले मङ्सिर चैत लगायतको समयमा एक घार मौरीले चार पाथीसम्म मह उत्पादन गर्ने गरेको बताउनुहुन्छ । देवकोटाका अनुसार मङ्सिर र चैत महिनामा सबैभन्दा धेरै मह उत्पादन हुने गर्दछ । मह उत्पादनसँगै उहाँले घार पनि बिक्री गर्दै आउनुभएको छ ।
‘‘पहिलोको तुलनामा अहिले महभन्दा मौरीसहितको घार बिक्रीबाट बढी आम्दानी हुने गरेको छ,’’ देवकोटाले भन्नुभयो । आजभोलि एक घारको रु १० हजारसम्ममा बिक्री हुने गरेको छ । गएको वर्ष मात्र करीब ४५ घार मौरी बिक्री गरेको उहाँले जानकारी दिनुभयो ।
पहिला मह मात्र उत्पादन गर्ने उद्देश्यले मौरीपालन केन्द्र खोलेको भए पनि महको बजारसँगै मौरीसहितको घारको बजार पनि बढ्न थालेपछि घार बिक्री गर्न थालेको कृषक देवकोटा बताउनुहुन्छ ।

