मुकेशलाई जिउँदो शहीद घोषणा गर्न परिवारको माग

बनेपा, १५ जेठ– “मुकेश उठ, यि हेर त यो के हो ?” बोल त बाबु, तिमी बोल्नुपर्छ । मुकेशकी आमा मीरा कायस्थ उहाँलाई स्याहार गर्ने क्रममा यसरी बोलिरहनु भएको थियो ।

आमा मीरा र बुबा कृष्णमानले बनेपा नगरपालिका–८ चैतन्य रोड छेउको घरमा रहेको दोस्रो तल्लामा मुकेशलाई यसरी नै स्याहार्दै आइरहनुभएको करीब १२ वर्ष भयो ।

मुख चलाई सामान्य आवाज निकाल्ने र बोलाउँदा केही खेलौना दिँदा समात्ने सम्म गरेका उहाँले अझै अरु प्रतिक्रिया दिन सक्नुभएको छैन । खाना खुवाउने, लगाएको लुगा र ओछ्यानको कपडा फेर्नुपर्ने, सरसफाइ गर्नुपर्नेलगायतका काममा मीरा र कृष्णमान चौबिसै घण्टा खटिरहनुभएको छ ।

गोली लागेको कञ्चटको घाउको खत ठूलै देखिन्छ । २०६२ साल चैत २७ गते बनेपामा भएको आन्दोलनमा प्रहरीले चलाएको गोली लागि मुकेश अचेत भएका हुन् । २०६२ साल चैत २६ गते काभ्रेपलाञ्चोकका भीमसेन दाहाल पोखरामा सुरक्षाकर्मीको गोलीबाट मारिएपछि थप आक्रोसित भएका आन्दोलनकारीले आन्दोलन चर्किँदै गर्दा १५ वर्षीय मुकेश पनि आन्दोलनमा उत्रिनुभयो र सुरक्षाकर्मीले चलाएको गोली उहाँको कञ्चटमा लागेर उहाँ घाइते हुनुभयो ।

सोही दिनदेखि उहाँ अझैसम्म पनि ओछ्यानमा नै हुनुहुन्छ । त्यसबेला १५ वर्षका उहाँ अहिले २७ वर्षको हुनुभयो । घाइते पछिको केही समय अस्पतालमा बिताउनुभएका उहाँलाई अहिले अलि गाह्रो अवस्थामा अस्पतालसम्म लानेबाहेक सम्पूर्ण समय घरमा नै उपचार र स्याहारसुसार भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here