काठमाडौं, २ भदौं–नवनियुक्त महान्यायाधिवक्ता वसन्तराम भण्डारीले आज पद तथा गोपनीयताको शपथ लिनुहुने भएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज बिहान ११ बजेका लागि शपथ ग्रहणको कार्यक्रम तय भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले भण्डारीलाई बुधबार महान्यायाधिवक्तामा सिफारिस गर्नुभएको थियो । प्रधानमन्त्रीको सिफारिसअनुसार उहाँको नियुक्ति भइसकेको छ ।
वरिष्ठ अधिवक्ता भण्डारी न्याय, कानुनको क्षेत्रमा चार दशकदेखि क्रियाशील हुनुहुन्छ । उहाँले यसअघि नेपाल बार एसोसिएसनको कार्यसमितिमा रहेर काम गरिसक्नुभएको छ ।
गत आइतबार महान्यायाधिवक्ता रमनकुमार श्रेष्ठले राजीनामा दिनुभएपछि उक्त पद रिक्त थियो । वर्तमान सरकार गठन भएको दुई महिनासम्म पनि श्रेष्ठ नै महान्यायाधिवक्तामा निरन्तर रहनुभएको थियो । महान्यायाधिवक्ता सरकारको प्रमुख कानुनी सल्लाहकार हुने संवैधानिक व्यवस्था छ ।

