भूमिगत विद्युत् प्रणालीको पुनः बोलपत्र आह्वान

काठमाडौँ, ११ कात्तिक: नेपाल विद्युत् प्राधिकरणले लागतभन्दा महङ्गो प्रस्ताव परेपछि भूमिगत विद्युत् प्रणालीको पुनः अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ ।

काठमाडौँ उपत्यकाको बिजुलीको तारलाई भूमिगत तथा वितरण प्रणालीलाई स्वचालित गर्ने कामको ठेकेदार छनोटका लागि पुनःअन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरिएको हो । प्राधिकरणले अनुमानित लागतभन्दा महङ्गो दर आएपछि करीब १० महीनाअघि शुरु गरिएको बोलपत्र प्रक्रिया रद्द गरी नयाँ प्रक्रिया शुरु गरेको जनाएको छ ।

प्राधिकरणले आज ४५ दिनको समयसीमा राखी बोलपत्र आह्वान गरेको हो । काम गर्न इच्छुक कम्पनीले आगामी २७ मङ्सिरसम्ममा आवेदन दिनसक्ने प्राधिकरणले जनाएको छ । ठेक्का प्रक्रियामा सिर्जना भएको जटिलताले गर्दा काममा ढिलाइ हुन पुगेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उक्त योजनालाई रणनीतिक महत्वको योजनाको रुपमा अगाडि सार्नुभएको छ ।

प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयका प्रमुख मनोज सिलवालले आयोजनामा सहुलितपूर्ण ऋण लगानी गर्ने दातृ निकाय एशियाली विकास बैँक (एडीबी)को खरीद निर्देशिकाअनुसार पुनः बोलपत्र आह्वान गरिएको जानकारी दिनुभयो । पहिलोचरणमा काठमाडौँको पूर्व तथा दक्षिणमा पर्ने वागबजार, असन, दरबारमार्गलगायत रत्नपार्क वितरण केन्द्रले समेटेका क्षेत्र र मध्य तथा उत्तरमा बालुवाटार, गङ्गबु, सामाखुसी लगायतका महाराजगञ्ज वितरण केन्द्र अन्तर्गतका क्षेत्रमा पर्ने विद्युत् वितरण प्रणालीलाई भूमिगत तथा स्वचालित बनाउन लागेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here