नेपालगञ्ज, ११ कात्तिक: नेपाल नेत्रज्योति सङ्घअन्तर्गत सञ्चालित यहाँस्थित फत्तेबाल आँखा अस्पतालले अहिलेसम्म दुई लाख २८ हजार ६६५ जनाको आँखाको शल्यक्रिया गरेको छ ।
अस्पतालका प्रबन्धक कौशलकुमार वर्माका अनुसार ३२ वर्षको अवधिमा अस्पतालले २० लाख ४६ हजार बिरामीको आँखा जाँच गरेको छ । यसका अलावा अस्पतालमा विभिन्न समयमा अलग÷अलग स्थानमा सञ्चालन गरेको शिविरमा १२ हजारभन्दा बढीको आँखा जाँच र ३८४ जनाको शल्यक्रिया गरेको जनाइएको छ ।
सो आँखा अस्पतालअन्तर्गत सुर्खेतको मेहलकुना, दैलेखको दुल्लु, डोल्पाको जुफाल र बर्दियाको सानोश्रीमा गरी आठ आँखा उपचार केन्द्र सञ्चालन हुँदै आएको छ । “यी आँखा उपचार केन्द्रमा अत्याधुनिक उपचार पद्धतिको विस्तारको तयारी हामीले थालेका छौँ”, सङ्घका बाँके जिल्ला अध्यक्ष रतन टण्डनले बताउनुभयो ।
अस्पतालले पूर्णकालीन ओपीडी, पेइङ क्लिनिक, फास्टट्र्याक शल्यक्रिया, औषधि र चश्माको उपलब्धता, प्याथोलोजी, नेत्र सहायकस्तरको जनशक्ति उत्पादन तथा कलेज सञ्चालन गर्दै आएको छ ।

