प्रेमिकाको हत्या गरी फरार लामिछाने इन्टरपोल ‘रेड कर्नर’मा,यस्ताे छ घटनाको नालिवेली

काठमाडाैं, १६ असार–व्यवसायीको अपहरणमा प्रयोग गरी प्रेमिकाको हत्या गर्ने युवकविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल) ले ‘रेड कर्नर’ नोटिस जारी गरेको छ । भक्तपुरका प्रकाश लामिछानेलाई मंगलबार इन्टरपोलले ‘रेड कर्नर’ नोटिस जारी गरेको हो ।

उनले असनका व्यवसायी श्यामसुन्दर अग्रवालको अपहरण गरी फिरौती असुल्न आफ्नी प्रेमिका राधिका श्रेष्ठलाई प्रयोग गरेका थिए । अपहरण गराएर फिरौती लिएपछि घटना लुकाउन उनले प्रेमिकाकै हत्या गरी बोरामा राखेर फालेका थिए ।

घटनाको भोलिपल्टै भारत भागेका उनलाई पक्राउ गरी नेपाल ल्याउन नेपाल प्रहरीले इन्टरपोलसमक्ष ‘रेड कर्नर’ नोटिसका लागि गत साता आग्रह गरेको थियो । सोही आग्रहअनुसार इन्टरपोलले ‘रेड कर्नर’ नोटिस जारी गरेको हो ।

अब जुनसुकै देशमा लुकेको भए पनि उनी पक्राउ पर्नेछन् । प्रहरी स्रोतका अनुसार उनी भारतबाट अर्काे देश गइसकेका छन् । ‘रेड कर्नर’ नोटिस जारी भएपछि सम्बन्धित देशको प्रहरीले उनलाई पक्राउ गरी नेपालमा ‘निष्कासन’ गर्नेछ ।

यसरी भएको थियो अपहरण र हत्या
मख्खनगल्लीस्थित न्यू डालिज सारी र सारी संसार नामक पसल चलाउने अग्रवालकै पसलमा काम गर्थिन् राधिका । उनी सुन्दर थिइन् । उनको सुन्दरताबाट ६२ वर्षीय अग्रवाल पनि प्रभावित थिए । त्यो कुरा लामिछानेलाई थाहा थियो । अग्रवालको त्यही कमजोरीको फाइदा उठाउँदै प्रेमिकालाई प्रयोग गरी अपहरण गर्ने योजना उनले बताएका थिए ।

योजनाअनुसार गत ५ फागुन दिउँसो करिब १ बजे राधिकाले अग्रवाललाई फोन गर्दै भेट्न बोलाइन् । त्यो दिन उनले पसलबाट बिदा लिएकी थिइन् । अग्रवाल सुन्धारास्थित सनराइज गेस्ट हाउसको ४०४ नम्बर कोठामा पुगे । राधिकाले उनलाई बियर पिउने प्रस्ताव गरिन् । उनले बियर पिउने इच्छा देखाएनन् । त्यही बीचमा तीनजना युवा कोठामा प्रवेश गरेर अग्रवालको मुख थुने । हातखुट्टा बाँधे ।

‘हामी सिआईबीबाट आएका प्रहरी हौं, गेस्ट हाउसमा आएर यस्तो गतिविधि गर्ने’ भन्दै धम्काए । हुन्डीको समेत कारोबार गर्ने सूचना पाएको भन्दै जेल हाल्ने धम्की दिए । जेल जानबाट जोगाउने भन्दै उनीहरूले पैसाको डिल सुरु गरे ।

आफ्नो बेइज्जत हुने डरले अग्रवाल तत्काल पैसा दिन तयार भए । तर, उनले ७० हजार रुपैयाँ मात्र बोकेर गएका थिए । उक्त समूहले आफ्नै एक ‘महिला प्रहरी’ लाई थप पैसा लिन पसलमा पठाउने बताए । उनै राधिका पसलमा गइन् ।

त्यहाँ पुगेर अग्रवाललाई फोन गरिन् ‘सर के के ल्याउनु भन्नु भएको हो ?’ पसलमा रहेका व्यक्तिलाई सामान्य आर्थिक कारोबारको भान दिन उनले त्यसरी फोन गरेकी थिइन् । पसलको काउन्टरमा रहेका व्यक्तिलाई अग्रवालले दुई लाख नगद र आठ लाखको चेक दिन निर्देशन दिए । सोहीअनुसार राधिका चेक बोेकेर आइन् ।

तर, आफ्नै नाममा चेक लिँदा पछि फसिने भएकाले पसल नजिकै बस्ने ओमप्रकाश देवलाई त्यसका लागि फकाइन् । उनले आफ्ना साथी छोटु यादवलाई लिएर आए । उनीहरू दुवै न्युरोडमै रहेको एस डेभलपमेन्ट बैंकको शाखामा गए ।

देव भारतीय नागरिक भएकाले उनको परिचय पत्र बैंकले नमानेपछि यादवको परिचयपत्रको प्रतिलिपि लिएर उनीहरूले आठ लाखको चेक साटे । युवती पैसा लिन बैंकमै पुगेकी थिइन् । पैसा लिएपछि गेस्ट हाउसमा रहेका युवकहरूले अग्रवालको मुखमा पट्टी लगाई हातखुट्टा बाँधेर बाहिरबाट चुक्कुल लगाई भागेका थिए ।

अग्रवालका छोरा आफ्नो बाबु बेपत्ता भएको भन्दै प्रहरीमा उजु्री लिएर गए । अनुसन्धान सुरु गरेको केही बेरमै अग्रवाल सनराइज गेस्ट हाउसमा भेटिएको भन्दै प्रहरीले खबर पाएको थियो । होटलको कोठाभित्र कसैले लगातार ढकढक गरेपछि होटलमा बसेका व्यक्तिले होटलका कर्मचारीलाई खबर ढोका खोलेका थिए ।

घरभित्रै प्रेमिकाको हत्या
हत्यापछि किशोर गिरी र सरोज घोरासैने दुई÷दुई लाख रुपैया“ लिएर ट्याक्सी चढी भक्तपुर गए । प्रकाश र राधिका अर्काे ट्याक्सी चढेर बागेश्वरीस्थित प्रकाशको घरमा पुगे । उक्त घर खाली थियो । बेलुका चारैजना सोही घरमा जम्मा भएका थिए ।  पैसा हात पारे पनि प्रकाशमा पक्राउ पर्ने त्रास कायमै थियो ।

अग्रवालकै पसलमा काम गर्ने भएकाले सुुरुमा राधिकामाथि नै प्रहरीले अनुसन्धान हुने र त्यसपछि आफू पनि फस्ने डर उनमा थियो । त्यही डरले उनले पैसाका लागि प्रेमिकाकै हत्या गरे आफूहरू जोगिने आंकलन गरे ।

प्रेमिकालाई हत्या गरे प्रहरीले घटनामा आफ्नो संलग्नता थाहा नपाउने उनको योजना थियो । सोहीअनुसार राधिकाको हातखुट्टा बाँधी मुखमा पट्टी लगाएपछि सलले घा“टी कसेर हत्या गरेका थिए । शवलाई बोरामा प्याक गरी घरबाट करिब तीन सय मिटर टाढा रहेको मुहानपोखरीमा उनलाई गाडिएको थियो ।

महिना दिनपछि खुलेको थियो रहस्य
अपहरणमा संलग्न भएकाले राधिका फरार भएको प्रहरी अनुमान थियो । तर, अपहरणको १५ दिनपछि युवतीको शव भेटिएपछि अनुसन्धानले नयाँ मोड लियो ।

हत्यापछि पक्राउ पर्ने डरले प्रकाश र किशोर भारतमा गएका थिए भने सरोज भने काठमाडौंमै बस्दै आएका थिए । किशोर भारतबाट भर्खदा भर्खदै ९ चैतमा विमानस्थलबाट पक्राउ परेका हुन् । सरोज मुख्य अभियुक्त प्रकाशकै मामाका छोरा हुन् । उनी प्रकाशकै परिवारस“ग बस्दै आएका थिए ।

तिवारीलाई नेपाल ल्याउन डिफ्युजन नोटिस
जापान पठाउने भन्दै दर्जनौं व्यक्तिलाई ठगी गरेका गोविन्द तिवारीलाई इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको छ । तिवारी जापानमा पक्राउ परिसकेका छन् । उनलाई नेपाल ल्याउन डिफ्युजन नोटिस जारी गरेको हो ।

उनले फेसबुकमार्फत चिनजान गरी ठगी गरेका हुन् । आफ्नो परिचय क्रिस त्रिपाठी भएको भन्दै चिनजान गरी जापानमा रोजगारीका लागि पठाइदिने भन्दै उनले ठगी गरेका थिए । जापानस्थित नेपाली दूतावासको पहलमा उनी पक्राउ परेका हुन् ।

नेपालमा निष्कासन गर्न उनीविरुद्धको प्रमाण चाहिने भएकाले नेपाल प्रहरीले इन्टरपोललाई आग्रह गरी डिफ्युजन नोटिस जारी गरेको हो । अदालतले पक्राउ पुर्जी जारी नगरेको अवस्थामा डिफ्युजन नोटिस जारी गरेको हो । तिवारीविरुद्ध २३ जना पीडितले महानगरीय अपराध महाशाखामा उजुरी दिएका छन् ।आजको नयाँ पत्रिकामा खबर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here