काठमाडौं, २ भदौं– प्रमुख ३ दलका नेता र निर्वाचन आयोगका आयुक्तहरुबीच भएकोे छलफलमा मंसिर ४ गते एकैपटक प्रदेशसभा तथा संघीय संसद्को निर्वाचन गर्ने समझदारी बनेको छ ।
बालुवाटारमा भएको छलफलमा प्रमुख निर्वाचन डा. आयुक्त अयोधीप्रसाद यादवले मंसिर ४ गते निर्वाचन गर्न प्रस्ताव गर्नु भएको छ । पहिलो चरणमा ३१ जिल्ला र बाँकी जिल्लाहरुमा दोस्रो चरणमा निर्वाचन गर्न उहाँले प्रस्ताव गर्नु भएको छ ।
एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले सरकारले २–३ दिनभित्रै प्रदेशसभा तथा संघीय संसद्को चुनाव घोषणा गरिने बताउनु भयो ।
नेम्वाङले भदौ ५ गतेभित्र निर्वाचन सम्बन्धी सबै कानुनहरु उपलब्ध गराउन सरकारसँग आग्रह गर्नु भयो । भदौ १५ गतेभित्र निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन निर्वाचन आयोगलाई उपलब्ध गराउन पनि माग गर्नु भयो ।
यस्तै माओवादी नेता नारायणकाजी श्रेष्ठले प्रदेश र संघीय संसद्को निर्वाचनका लागि प्रत्यक्षतर्फ एउटा र समानुपातिकतर्फ अर्को मतपत्र प्रयोगमा आउने बताउनु भयो ।

