काठमाडौं, ३ भदौं – प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणको क्रममा नेपाली ग्यास बुलेटको लाइसेन्स र पेट्रोलियम पाइपलाइन पनि मुख्य एजेन्डामा समावेश हुने भएको छ ।
भारतीय एकाधिकार तोड्न सरकारले नेपालीले सञ्चालन गर्न पाउने व्यवस्था गरे पनि बनिसकेका ग्यास बुलेट भारतमै अलपत्र परेका छन् । ग्यास ढुवानीका लागि भारतले ‘बिस्फोटक लाइसेन्स’ नदिँदा करिब ४ सय बुलेट थन्किएका छन् । प्रधानमन्त्रीको भ्रमणका क्रममा आपूर्ति मन्त्रालयका तर्फबाट मुख्य एजेन्डा बिस्फोटक लाइसेन्सको अनुमति राखेको मन्त्रालयले जनाएको छ ।
‘परराष्ट्र मन्त्रालय र दूतावासमार्फत धेरैपटक पहल गरेका छौं । प्रयास धेरै भए पनि प्रतिफल आएको छैन,’ शुक्रबार संसदको उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिको बैठकमा आपूर्ति सचिव प्रेमकुमार राईले भने, ‘मन्त्रालयको तर्फबाट मुख्य एजेन्डा नेपाली ग्यास बुलेट सञ्चालनको अनुमति राखेका छौं ।
उच्चस्तरीय टोलीको भ्रमणबाट केही प्रतिफल आउने आशा गरेका छौं ।’ प्रधानमन्त्री देउवाले यही भदौ ७ देखि भारतको औपचारिक भ्रमण गर्नेछन् । आजको कान्तिपुरमा खबर छ ।

