काठमाडौं, ९ बैशाख– प्रधानमन्त्री पुष्प कमल दाहालले नेपाल राजनीतिक परिवर्तनलाई संस्थागत गर्दै विकास र समृद्धिको यात्रामा अगाडि बढिरहेको बताउनु भएको छ । साथै आफ्नो नेतृत्वको सरकारले हासिल गरेको आर्थिक बृद्धिदर त्यसैको संकेत भएको समेत उहाँले बताउनु भयो ।
प्रधानमन्त्री दाहाल र अमेरिकी सिनेटरहरु क्रिस्टोफर कुन्स र जेफ मक्र्लीबीच आज प्रधानमन्त्री निवास बालुवटारमा भएको भेटमा नेपालमा सञ्चालित विकास आयोजना, तिनीहरुको मौलिकता र प्रभावकारिताका विषयमा छलफल भएको थियो । भेटमा प्रधानमन्त्री दाहालले नेपालको विकास आयोजनाहरुमा अमेरिकाले गरेको सहयोगको प्रसंशा गर्नुभयो ।
प्रधानमन्त्री दाहाललले संविधान कार्यान्वयनका लागि स्थानीय तहको निर्वाचनको तयारी तीर्व पारिएको बताउनुभयो । स्थानीय निर्वाचनपछि विकास आयोजना र समृद्धिको सपनाले अझ तिब्रता पाउने उहाँको भनाई थियो ।
सो अवसरमा सिनेटरहरुले नेपालको आर्थिक बृद्धिदर उच्चस्तरमा रहेको बताउँदै वर्तमान सरकारको विकास र समृद्धिको सोंच सकारात्मक रहेको बताउनु भयो ।
सिनेटरहरुले नेपालमा महिलाहरुको राजनीति र सामाजिक क्षेत्रमा देखिएको जागरण विश्वकै निम्ति नमूनायोग्य रहेको समेत बताउनुभयो ।

