काठमाडाैं, ३ माघ – पाँच नम्बर प्रदेशको राजधानी दाङ बनाउन माग गर्दै जिल्लाबासीले आजदेखि अनिश्चितकालीन दाङ बन्द गरेका छन् । प्रदेश राजधानी बुटवललाई बनाउने संकेत पाएको भन्दै दाङबासीले आन्दोलन सुरु गरेका हुन् ।
बिहानैदेखि घोराही, तुलसीपुर, लमही, भालुबाङ, बिजौरीमा स्थानीयबासीले टायर बालेर प्रदर्शन गरिरहेका छन् । दाङखण्डमा पर्ने पूर्वपश्चिम राजमार्ग पनि ठप्प छ । बन्दका कारण जनजीवन प्रभावित भएको छ ।
बन्दका कारण लामो तथा छोटो दुरीका सवारी साधन चल्न सकेको छैनन भने उद्योगधन्दा, कलकारखाना र शिक्षण संस्था पनि खुलेका छैनन् ।
यसैबीच, डोटीमा गत पुस १९ देखि २४ गतेसम्मको बन्दपछि केहिदिन खुलेपनि आजबाट पुनः बन्दको आह्वान गरिएको छ । प्रदेश नं. ७ को राजधानी दिपायल कायम गर्न माग गर्दै आजदेखि फेरि बन्द आह्वान गरिएको हो ।
जारी आन्दोलनको बिषयमा थप छलफल गर्न हिजो अवेर बसेको आन्दोलन संयोजन समितिको बैठकले आज बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म बजार, सरकारी तथा गैरसरकारी कार्यालय, यातायात, उद्योग कलकारखाना, व्यापार व्यवसाय पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको छ ।
यस्तै, प्रदेश नंं १ को राजधानी बनाउन माग गर्दै आन्दोलनकारीले धनकुटा बजार र कोशी राजमार्गमा यातायात बन्द गराएका छन् । हिजो क्षेत्रीय प्रशासन कार्यालय घेराउ गरेका धनकुटाका आन्दोलनकारीले आज बिहानैदेखि बन्द गरेका हुन् ।
बन्दकर्ताले संखुवासभाबाट धरानका लागि छुटेको एक मोटरसाइकल तोेडफोड गरेका छन् ।

