पोखरा, २७ फागुन- प्रदेश नं ४ को आजको प्रदेशसभा बैठकले आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको विधेयक दफावार छलफलका लागि विधायन समितिमा पठाउने निर्णय गरेको छ ।
सभामा प्रदेश नं ४ का मुख्यमन्त्री एवम् आर्थिक मामिला तथा योजना मन्त्री पृथ्वीसुब्बा गुरुङले आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको विधेयक दफावार छलफलका लागि विधायन समितिमा पठाइयोस् भन्दै गर्नुभएको प्रस्ताव वैठकले सर्वसम्मतिले पारित गरेको हो ।
यसअघि मुख्यमन्त्री गुरुङले उक्त विधेयकमाथि विचार गरियोस् भनी गर्नुभएको प्रस्तावलाई सभाले स्वीकृति दिएको थियो । अर्को बैठक आगामी चैत ५ गते सोमबार १.०० बजे बस्नेछ ।

