विराटनगर, ५ चैत: ‘पर्यटन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको छ । प्रदेश नं १ को आजको बैठकमा प्रदेशसभा नियमावली, २०७४ को नियम ९३(१) र नियम ९५ बमोजिम सो विधेयक सामाजिक विकासमन्त्री जीवन घिमिरेले पेश गर्नुभएको थियो ।
प्रदेशसभा (पहिलो संशोधन) नियमावली, २०७५ को मस्यौदामा समान्य छलफल भयो । छलफलमा प्रदेशसभा सदस्य अम्विका थापा, मोहनकुमार खड्का, राजेन्द्रकुमार राई, रामबहादुर मगर र शिवनारायण गनगाइँ संशोधित मस्यौदा सहमतिबाट नै ल्याइएकाले यसको प्रयोग र उपयोग फाइदाजनक हुने विश्वास व्यक्त गर्नुभयो ।
सो मस्यौदा समितिका सभापति तुलसीप्रसाद न्यौपानेले संसदीय विधि र प्रक्रियाबाट ल्याएको यो संशोधन मस्यौदाले संसदीय प्रणालीको गरिमा बढाउने विचार व्यक्त गर्नुभयो ।
शून्य समय
प्रदेशसभामा शून्य समयमा सदस्य आशारत्न जवेगु, खिमुलाम्वा लिम्बू र मोहनकुमार खड्काले अहिले सुख्खा मौसममा पहाडी क्षेत्रमा भएका आगलागीबाट घरबारविहीन परिवारलाई प्रदेश सरकारले उचित बासको व्यवस्था र राहतको प्रबन्ध मिलाउनुपर्ने माग गर्नुभयो ।
सदस्य विर्खबहादुर प्रधानले नेपालबाट भारततर्फ चौपाया निर्यात गर्न रोक लाग्नुले यहाँका किसान ठूलो मर्का परेकाले भारत नभए बङ्गलादेश निर्यातको प्रबन्ध मिलाउन प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभयो । प्रदेशसभाको अर्को बैठक यही चैत १० गते दिउँसो १ बजे बस्ने सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिनुभयो ।

