काठमाडौं,१४ फागुन । नेपाल र भारतीय सुरक्षा अधिकारीबीच आकस्मिक छलफल भएको छ । भारतीय सीमासँग जोडिएका नेपालका कैलाली, कन्चपुर र बर्दिया जिल्लाका सुरक्षा अधिकारीसँग भारतीय अधिकारीको मंगलबार आकस्मिक छलफल गरेका छन् ।
भारतको उत्तरप्रदेशमा पर्ने खिरी जिल्लाको पलिया लखिमपुरका भारतीय सुरक्षा अधिकारीले बैठक बोलाएको हो । बैठकमा कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी, सशस्त्र प्रहरीका डिएसपी, नेपाल प्रहरीका एसपी, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी र नेपाल प्रहरीका डिएसपीको सहभागिता थियो ।
भारतका तर्फबाट खिरी जिल्लाका डिएम, भारतीय प्रहरीका एसएसएपी, एसपी, दुधुवा राष्ट्रिय निकुञ्जका प्रमुख र भारतीय लोकसभा आमनिर्वाचन २०१९ का कर्मचारीको उपस्थिति थियो ।
बैठकमा भारतमा आउँदै गरेको लोकसभाको निर्वाचनको समयमा अनैतिक क्रियाकलाप, चोरीपैठारी, लागूऔषध ओसारपसार कसरी नियन्त्रण गर्ने भन्ने विषयमा छलफल भएको जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी आभूषण तिमिल्सिनाले जानकारी दिनुभयो । लखिमपुरमा भएको बैठकमा भारतीय सञ्चारमाध्यमपनि प्रवेश दिइएको थिएन । केहि दिन यता भारतका विभिन्न क्षेत्रमा पाकिस्तानी आक्रमण बढ्दो छ ।

