काठमाडौं,५ मंसिर– नेपालमा हुने नवजात शिशु तथा बाल मृत्युदरमा कमी आइरहेको एक अध्ययनले देखाएको छ । नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणको एक तथ्याङ्क अनुसार प्रत्येक हजार जीवित शिशुमध्ये २१ जनाको पहिलो महिनाभित्र, ३२ को एक वर्षभित्र र ३९ जनाको पाँच वर्षभित्र मृत्यु हुने गरेको छ ।
सन् २०११ मा नवजात शिशुको मृत्युदर प्रति हजारमा ३३ र पाँच वर्ष मुनिका बालबालिकाको मृत्युदर ५४ थियो । पछिल्लो २० वर्षमा प्रति हजारमा नवजात शिशुमृत्युदर २९ र पाँच वर्ष मुनिका बालबालिकाको मृत्युदर १ सय ५७ ले कमी आएको सर्वेक्षणले औंल्याएको छ । सन् २०३० सम्ममा नवजात शिशुमृत्युदर प्रति हजारमा १२ भन्दा कममा झार्ने सरकारले दिगो विकास लक्ष्य लिएको छ ।
निमोनिया, झाडापखाला, दादुरा, कुपोषण र औंलो रोग बालमृत्युदरको प्रमुख कारण रहेको बाल स्वास्थ्य महाशाखा अन्तर्गतको नवजात शिशु तथा बालरोग एकीकृत व्यवस्थापन कार्यक्रम प्रमुख पर्शुराम श्रेष्ठले बताउनुभयो । यस्तै, कम तौल वा समय नपुगी जन्मिंदा देखिने विभिन्न जटिलता तथा जन्मिदा निस्सासिएर शिशुको ज्यान जाने गरेको श्रेष्ठले जानकारी दिनुभयो । नवजात शिशु तथा बालमृत्युदर घटाउन सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरेको छ ।
जन्मेदेखि २८ दिनसम्म नवजात शिशुको निशुल्क उपचार र समुदायमा आधारित नवजात शिशु तथा बालरोगको एकीकृत व्यवस्थापन कार्यक्रम सञ्चालन भइरहेको श्रेष्ठले जानकारी दिनुभयो । हाल कायम रहेका मृत्युदरमा कमी ल्याउन यी कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्दै लैजाने श्रेष्ठको भनाई छ ।

