नेपालमा चक्रवात ‘फानी’को प्रभाव कस्तो होला ?

काठमाडौं,१९ बैशाख ।  चक्रवात ‘फानी’ हाल बंगालको खाडीको मध्य पश्चिमी भागमा अवस्थित रहेको र बिस्तारै उत्तरपूर्वी दिशातर्फ बढिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शुक्रबारबाट यो प्रणाली भारतको ओडि़सा को तटीय क्षेत्रमा भित्रिने सम्भावना रहेको र यो प्रणाली कमजोर बन्दै जाने महाशाखाको भनाइ छ ।

‘उक्त चक्रवात नेपालतर्फ आउने सम्भावना अहिलेसम्म नदेखिएता पनि यसको प्रभावबाट नेपालको पूर्वी र मध्य क्षेत्रमा भोलि (शुक्रबार) र पर्सि (शनिबार) मौसम केही प्रभावित भइ पूर्वी र मध्यका स्थानहरुमा मेघ गर्जनरचट्टयाङ तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको छ भने हिमाली भूभागमा पनि मध्यम देखि भारी हिमपातको सम्भावना रहेको देखिन्छ,’ महाशाखाले बिहीबार विहान जारी गरेको सूचनामा भनिएको छ ।

देशको पश्चिमी क्षेत्रमा भोलि (शुक्रबार) पश्चिमी वायुको प्रभाव रहने हुँदा केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना देखिएको महाशाखाले जनाएको छ । आइतबारदेखि देशभर मौसममा क्रमिक रुपमा सुधार आउने सम्भावना रहेको पनि महाशाखाले सूचनामार्फत जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here