काठमाडौँ, २२ मङ्सिर । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले निर्माण व्यवसायीका जायज काममा सरकारी हस्तक्षेप नहुने प्रतिबद्धता जनाउनु भएको छ ।
नेपाल निर्माण व्यवसायी महासङ्घले ११औँ राष्ट्रिय निर्माण दिवसको अवसरमा आज यहाँ आयोजना गरेको प्रभातफेरी कार्यक्रममा उहाँले व्यवसायीका काममा सरकारी हस्तक्षेप हुन नदिने बताउनुभयो । देश बनाउने जिम्मेवारी निर्माण व्यवसायीकै हो भन्नुहुँदै मन्त्री महासेठले पूर्ण शक्तिका साथ देश निर्माणमा जुट्न व्यवसायीलाई अनुरोध गर्नुभयो ।
“विगतमा व्यवसायी र सरकार दुवै पक्षबाट कमी कमजोरी भए होेलान्, अब त्यस्ता कमी कमजोरी सच्यााएर अघि बढ्नुको विकल्प छैन”मन्त्री महासेठले भन्नुभयो । उहाँले २०५२ सालदेखि विभिन्न कारणले पूरा नभएका योजनाको म्याद थप गर्ने प्रक्रिया शुरु भइसकेको जानकारीे दिनुभयो ।”
महासङ्घका अध्यक्ष रवि सिंहले निर्माण व्यवसायलाई स्थापित पेशा बनाउन वर्तमान नेतृत्व क्रियाशील रहेको बताउनुभयो । अहिलेको सरकारको नारा ‘समृद्ध नेपाल सुखी नेपाली’लाई साकार बनाउन महासङ्घ प्रतिबद्ध रहेको उल्लेख गर्नुहुँदै उहाँले निर्माणमैत्री वातावरण अहिलेको आवश्यकता भएको बताउनुभयो ।

