पर्वत, १३ कात्तिक:पर्वतको कुश्मा नगरपालिका–११ सिल्मीमा रहेको विश्व ज्योति माध्यमिक विद्यालय भवन निर्माणमा लापर्बाही भएको पाइएको छ ।
भवन ढलानका क्रममा ठेकेदारले चरम लापर्बाही गरेको भन्दै स्थानीयले विरोध गरेपछि नगरपालिकाले खटाएको प्राविधिक टोलीले रड बुनाइ र ढलानमा लापर्बाही भएको जनाएको छ । भवनको छत ढलान गर्दा सामान्यतः पाँच इन्च मोटाइ हुनुपर्नेमा तीन इन्च पनि नभएको र ढलान ठाउँठाउँबाट खसिसकेको देखिएकाले ढलान भत्काइएको छ ।
भवनको ढलान गर्ने क्रममा टेका क्रस नभएको, जग कमजोर भएको, तोकिएको मापदण्डअनुसार रड प्रयोग नगरिएका कारण ढलानमा लापर्बाही भएको भन्दै स्थानीयवासीले नगरपालिकामा गुनासो गरेका थिए ।
अनुगमनमा गएका प्राविधिक दीपक थापाका अनुसार बिम, स्ल्याप, लेभल, थिकनेस मापदण्डअनुसार छैन । “यही कारण भत्काउनुपर्ने बाध्यता भएको हो”, थापाले भन्नुभयो, “कमजोरी ढलानमा पाएका छौँ ।” शिक्षा विकास तथा समन्वय एकाइ पर्वतका प्रमुख उद्धिमराज पौडेलले आफूहरूले प्राविधिकसँग सहकार्य गरेर काम गर्न भने पनि त्यसअनुसार काम नगर्दा भवन निर्माण त्रूटी भएको बताउनुसभयो ।
“भवनको पिल्लर र बिमसमेत बाङ्गिएको पाएपछि हामीले काम रोक्नुहोस् भनेका हौँ”, उहाँले भन्नुभयो, “तर साँझमा हतारहतार ढलान गर्नुभएछ । कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले काम नरोकेमा भुक्तानी नदिने बताउँदा समेत टेर्नुभएन ।”

