काठमाडौं,४ फागुन–निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा सरकारले राष्ट्रियसभा सदस्यका तीन सदस्य मनोनयनकालागि गरेको सिफारिस नयाँ सरकारले फिर्ता लिने भएको छ ।
उक्त सिफारिस राष्ट्रपति कार्यालयमा थन्किएको छ । संविधानअनुसार राष्ट्रियसभामा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले ३ जना मनोनित गर्ने व्यवस्था छ ।
यसअघि प्रदेशगत निर्वाचनबाट ५६ जना निर्वाचित भएर आइसकेका छन् । अब तीन जनाको मनोनयन नयाँ सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने शीतलनिवास स्रोतले जनाएको छ ।
देउवा सरकारले कांग्रेस कार्यकर्ता कृष्णप्रसाद पौडेल, गोपाल बस्नेत र चाँदनी जोशीलाई राष्ट्रियसभा सदस्य मनोनयनका लागि सिफारिस गरेको थियो । तर, राष्ट्रपति कार्यालयले सो सिफारिस अध्ययन गर्न बाँकी रहेको र परामर्श गर्नुपर्ने भन्दै थन्क्याएको थियो ।
नयाँ सरकारले नयाँ नाम सिफारिस गर्ने एमालेले जनाएको छ । यसैबीच, चुनावमा पराजित भइसकेपछि देउवा नेतृत्वको सरकारले गरेको राजनीतिक नियुक्ति तथा मुलुकलाई आर्थिक भार पर्ने गरि गरेका निर्णयहरु वाम गठबन्धनको सरकारले एकमुष्ठ रुपम खारेज गर्ने बताएकोे छ । व्यवहारिक र कानुनी पक्षहरु अध्ययन गरेपछि कामचलाउ सरकारले गरेका त्यस्ता निर्णयहरु बदर गरिने ओली सरकारले जनाएको हो ।

