एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संघीय जाँच एजेन्सी एफबीआईका निर्देशक जेम्स कोमीलाई पदबाट बर्खास्त गर्ने आफ्नो निर्णयको बचाउ गरेका छन् ।
कोमीलाई पदबाट हटाइएपछि धेरैको आलोचनाको सामना गरिरहेका राष्ट्रपति ट्रम्पले आफ्नो निर्णय सही भएको दाबी गरेका हुन् ।
उनले हिलारी क्लिन्टनको ईमेल छानबिन प्रकरणमा दोषी पाइएकाले कोमीलाई बर्खास्त गरेको बताएका छन् । यस्तै राष्ट्रपति ट्रम्पले कोमीको ठाउँमा धेरै राम्रो काम गर्न सक्ने, एफबीआइको सम्मान फिर्ता ल्याउन सक्ने व्यक्ति नियुक्त गरिने बताएका छन् ।
कोमीलाई हटाइपछि रिक्त पदमा तुरुन्तै नयाँ उम्मेदवार खोजिने ह्वाइट हाउसले बताएको बिबिसीले जनाएको छ । कोमीले ट्रम्पको चुनाव प्रचार र रुससँगको सम्बन्धबारे एफबीआई जाँचको अगुवाई गरेका थिए ।

