काठमाडाैं,१५ मंसिर । राजधानीको मित्रनगरमा ड्राइभरले रिस फेर्ने नाममा आठवर्षीय बालकको ज्यान लिएको खुलेको छ। गेस्ट हाउसका मालिक प्रवीण कुँवर र आठवर्षीय छोरा प्रयाससँग बदला लिने नाममा बालकको हत्या भएको प्रहरी अनुसन्धानले देखाएको छ। स्याङ्जाको भीरकोट नगरपालिकाका–२२ वर्षीय महेन्द्र एसकेले प्रहरीलाई दिएको बयानमा छोराले आफूलाई कुटेको र बाबुले हप्काएको रिस फेर्न बालकलाई उठाएर हत्या गरेको बताएका छन्।
आठवर्षीय बालक प्रयास कुँवरको एसकेले मंगलबार साँझ गेस्ट हाउसबाटै उठाएर नागार्जुन जंगलस्थित एकान्त सडकमा पु¥याई घाँटी र नाकमुख थिचेर हत्या गरेका थिए। उनले बालकलाई नागार्जुन लैजानुअघि मित्रनगरकै डीआर फेन्सी स्टोर र अर्को कपडा पसलबाट दुइटा जेब्रा झोला पनि किनेर लगेका थिए।
एक महिनाअघि मात्रै १४ हजार रुपैयाँ तलबमा गेस्ट हाउसका पाहुना ओसार्ने स्कोर्पियो चलाउने जिम्मा पाएका उनले काममा लापरबाही गरेको भन्दै मालिक प्रवीण कुँवरले पटकपटक निकालिदिने भनेका थिए। गेस्ट हाउसको गाडीले अरु होटलका पनि मान्छे लुकीलुकी बोक्न थालेपछि रिसाएका गेस्ट हाउस मालिकले हप्काएदेखि नै एसकेले बदला लिने योजना बनाएको खुलेको छ।
हत्या आरोपी एसकेले आफूलाई रिस उठेपछि मान्छेलाई नै जे पनि गर्ने भन्ने गरेको स्वस्तिका त्रिवेणी गेस्ट हाउसकै एकाउन्टेन्ट नमराज पौडेलले बताए। ‘घटनाको एक दिनअघि कोठामा गाडी राख्न लाँदा उसले मलाई ‘रिस उठ्यो भने गाडीलाई कहिल्यै रिस पोख्दिनँ, गाडी मेरो गरिखाने बाटो हो। रिस उठ्यो भने मान्छेलाई जे पनि गर्छु’, भनेको थियो’, पौडेलले सुनाए, ‘गेस्ट हाउस मालिकले उसलाई राम्रो काम गर, अरूले बाह्र हजार दिए मैले चौध हजार दिन्छु भन्नुभएको रहेछ। अझै राम्रो काम ग¥यौ भने सोह्र हजार पनि दिन्छु, भाइ जस्तै होऊ पनि भन्नुभएको रहेछ। तर उसले भने जस्तै सन्कीको भरमा बालकको ज्यान लिएरै छाड्यो।’
बाबुले हप्काएर तनावमा परेका एसकेलाई चञ्चले स्वभावका बालक प्रयासले स्कोर्पियोको लिभरले टाउकोमा हिर्काएपछि उनले दुवैसँग बदला लिने योजना बनाएको प्रहरी अनुसन्धानबाट खुलेको छ। ‘सन्की र रिसाहा स्वभावका एसके कामबाट निकालिदिने गेस्ट हाउस मालिकको चेतावनी र बालक प्रयासले टाउकोमा पीडा हुने गरी लिभरले हिर्काएपछि बदला लिने योजनामा लागेको देखियो’, महानगरीय प्रहरी अपराध महाशाखाका प्रवक्ता एसपी नरेन्द्र उप्रेतीले भने, ‘सानैदेखि सन्की स्वभावका एसकेले बाबुआमा अस्पताल गएको मौकामा गेस्टहाउसबाट छोरालाई उठाएर ४५ मिनेटभित्र हत्या गरेको पाइयो।’
बाबुआमा र प्रहरीलाई झुक्याए
एसकेले मंगलबार साँझ ६ बजे बालकलाई उठाएर नागार्जुनमा लगी हत्या गरेपछि जेब्रा झोलामा शव हालेर गेस्ट हाउसकै गाडीमा म्हैपी पुलनजिकै फोहोरको थुप्रोमा ल्याएर फालेका थिए। गेस्ट हाउसमा फर्केपछि छोरो नदेखेका बाबुआमाले तत्कालै खोजी थाले। नभेटिएपछि गेस्ट हाउसमा नभएका ड्राभइर एसकेलाई पनि उनीहरूले फोन गरे। तर उनले फोन काटे, त्यसपछि फोन उठाएका उनले बालक आफूसँग नभएको जवाफ दिए।
सन्काहा स्वभावले अपराध
एसकेकै भनाइका आधारमा महानगरीय प्रहरी अपराध महाशाखा प्रमुख धीरजप्रताप सिंहसहितको टोलीले जेब्रा झोलाभित्र पोको पारेको अवस्थामा बालकको शव भेट्टाए। केही समय भारतमा समेत बसेर आएका एसकेको सन्काहा स्वभावकै कारण बालकले ज्यान गुमाउनुपरेको सुरुवाती निचोड प्रहरीले निकालेको छ।
प्रहरीले अहिलेसम्म एसके विगतमा आपराधिक गतिविधिमा लागेको संकेत भेट्टाएको छैन। स्कोर्पियोबाट अन्य होटलका पनि यात्रु बोकेको पाइएपछि मालिकले कामबाट निकालिदिने भनेको बाहेक अरू बेला गालीसमेत नगरेको एकाउन्टेन्ट पौडेल बताउँछन्। ‘मालिकले कामबाट निकालिदिने भनेकै कारण उसले यस्तो गरेको हुन सक्छ। यसअघि झगडा भन्ने केही भएकै थिएन। दाइ (गेस्ट हाउस मालिक)ले जीवनमा कहिल्यै रिसाएर बोलेको थाहा छैन, एसकेलाई पनि लापरबाही नगर्न सम्झाउनुभएको हो।’ अाजकाे अन्नपुणर्र्मा खबर छ ।

