जबरजस्ती करणीपछि हत्याको प्रयास गर्ने युवक पक्राउ

मोरङ, २३ चैत । प्रहरीले एक महिलालाई जबरजस्ती करणीपछि हत्या प्रयास गरेको अभियोगमा सुनसरीका अजय झालाई पक्राउ गरेको छ ।

सुनसरी बराह नगरपालिका ७ का २३ वर्षिय झालाई बिहीबार विराटनगरबाट पक्राउ गरेको हो । स्थानीय महिलालाई जबरजस्ती करणी गरी हत्याको प्रयास गरेको आरोपमा पक्राउ परेका उनलाई शुक्रबार सार्वजनिक गरेको छ ।

मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अरुण विसीले बराह नगरपालिकाको स्थानीय होटलमा काम गर्ने युवतीलाई बिवाह गर्छु भनी ललाई फकाई पटक पटक जबरजस्ती करणी गर्दै आएका थिए ।

जबरजस्ती करणीबाट ३० वर्षिया महिला गर्भवती भएपछि अजयले ती महिलालाई तीन साताअघि झापा दमकको डेरामा राख्ने भन्दै लगेर मोरङको भाउन्नेको जंगलमा ज्यान मार्ने उद्देश्यले कुटपिट लछारपछार गरी घाँटीमा सलले बाँधेर अचेत अवस्थामा फाली फरार भएका थिए ।

पीडित महिलाकी श्रीमानले दोस्रो विवाह गरी वेपत्ता भएपछि उनी होटलमा भाडा माझ्ने काम गर्दै आएको प्रहरीले जनाएको छ ।

अजयलाई खोजी गर्ने क्रममा बिराटनगर १३ कोशी प्रोजेक्टको एरियामा लुकी छिपी हिँडडुल गर्दै गरेको अवस्थामा बिहीबार विहान अजयलाई पक्राउ गरेको प्रहरी उपरीक्षक विसीले जानकारी दिए ।

ती महिलालाई दमक लाने क्रममा सहयोग गर्ने अजयका साथी सन्तोष तामाङ भने फरार रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here