काठमाडौं,१६ चैत:नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले नेपालमा लगानी गर्ने उपयुक्त समय रहेको बताउनुभएको छ । लगानीकालागि अहिले समय उपयुक्त भएको भन्दै स्थिर सरकारले उद्यमीलाई सहज हुने बताउनुभयो ।
लगानी सम्मेलन अन्तर्गत नेपालमा लगानीको सम्भावना र अनुभव आदान प्रदान सत्रमा उहाँले दुई दशक लामो राजनीतिक अस्थिरतापछि नेपालले स्थिर सरकार पाएको भन्दै अब लगानी गर्न उपयुक्त वातावरण बनेको उल्लेख गर्नुभयो ।
नेपाल विकासोन्मुख राष्ट्र भएकाले पनि नयाँ लगानीकर्तालाई अवसर रहेको उहाँको भनाई छ । उहाँले नेपाल विकासोन्मुख मुलुक भएको भन्दै त्यसैले पनि यहाँ सम्भावना र अवसरहरु धेरै रहेको दावी गर्नुभयो । नेपालमा सरकारले ठूला पूर्वाधारमा लगानी बढाउन चाहेको भन्दै उहाँले रेल्वे, सडक, अन्तर्राष्ट्रिय विमानस्थल, जलविद्युत, सूचना प्रविधि क्षेत्रमा लगानीको अवसर रहको बताउनुभयो ।
उहाँले नेपाल पछिल्लो समय नेपाल मेडिकल हब बन्दै गएको भन्दै कृषि क्षेत्रका लागि अनुकूल मौसम रहेकोे जानकारी दिनुभयो । उहाँले ठूलो अर्थतन्त्र भएका चीन र भारत जस्ता दुई राष्ट्रबीच रहेकाले पनि नेपालमा लगानीको जोखिम नहुने तर्क गर्नुभयो ।

