काठमाडौं,१२ कार्तिक– केही दिनयता राजधानीसहित देशका विभिन्न स्थानमा तापक्रम एक्कासि गिरावट आएसँगै चिसो बढेको छ ।
गत सातासम्म काठमाडौंमा न्यूनतम तापक्रम १४ देखि १६ डिग्री सेल्सियस रेकर्ड भएकामा हिजोसम्मको तापक्रम अघिल्लो साताभन्दा ३ देखि ४ डिग्रीले कमी आएको छ ।
अधिकतम तापक्रममा पनि ४ देखि ५ डिग्री सेल्सियसले गिरावट आएको छ । मनसुनपछिको पहिलो पश्चिमी न्यूनचापीय क्षेत्रको असरका कारण देशैभर बदली भएपछि तापक्रममा गिरावट आएको हो ।
बदली र तापक्रममा आएको गिरावटसँगै उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सुवास रिमालले जानकारी दिनुभएको छ ।
उहाँले तापक्रम तलमाथि भइरहेको र छिटो तापक्रम घटिरहेकोले यसको असर हिमाली क्षेत्रमा बढी पर्ने वताउनुभयो ।
विगतमा मनसुन बाहिरिएको केही समयपछि मात्र न्यूनचापीय क्षेत्रको विकास हुने गरे पनि यस पटक छिटो त्यस्तो बदलाब देखिएको मौसमविद्हरूको वताएका छन ।

