भक्तपुर, १० चैत: उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले क्षयरोग उन्मूलनका लागि सरकार प्रतिबद्ध भएर अगाडि बढेको बताउनुभएको छ । विश्व क्षयरोग दिवसको अवसरमा आज राष्ट्रिय क्षयरोग केन्द्र भक्तपुरले आयोजना गरेको कार्यक्रममा उहाँले सरकारले क्षयरोग निको पार्न छुट्टै आधुनिक क्षयरोग उपचार तथा अनुसन्धान केन्द्र स्थापना गर्ने तयारी गरेको बताउनुभयो ।
उपप्रधानमन्त्री यादवले क्षयरोग लाग्न नदिन पिछडिएका नागरिकमा क्षयरोगबारे जनचेतना अभिवृद्धि गर्न सके यसबाट हुने मानवीय क्षतिलाई न्यूनीकरण गर्न सकिने बताउनुभयो । उहाँले क्षयरोग कम गर्न आवश्यक जनचेतना फैलाउन प्रदेश र स्थानीय तहमा आवश्यक स्वास्थ्य संस्थाको स्थापना गर्ने योजना सरकारले अगाडि सारेको बताउनुभयो । क्षयरोग बेलैमा उपचार गरे निको हुने रोग हो भन्नेसमेत कतिपयले जानकारी नपाएकाले जनचेतना फैलाउनु आवश्यक रहेको उहाँको भनाइ थियो ।

