एजेन्सी– अमेरिकाको क्यालिफोर्नियाको जंगलमा भीषण आगलागी हुँदा कम्तिमा १० जनाको मृत्यु भएको छ ।
क्यालिफोर्नियाको वाइन रिजन (रक्सी उत्पादनका लागि प्रख्यात) क्षेत्रमा तीब्र गतिमा फैलिएको आगोका कारण ठूलो जनधनको क्षति भएको हो ।
आगलागीका कारण कम्तिमा १५ सय फार्म नष्ट भएका छन् । क्यालिफोर्नियाको नापा, सोनोमा र युवा काउन्टीका फार्म बढी प्रभावित भएका बीबीसीले जनाएको छ । यी फार्ममा रक्सी उत्पादनका लागि चाहिने अंगुरसहितका कच्चा पदार्थ उत्पादन हुने गरेको थियो ।
आगलागी प्रभावित क्षेत्रबाट झण्डै २० हजार मानिस विस्थापित भएका छन् । यो क्यालिफोर्नियाको इतिहासमा अहिलेसम्मकै भीषण आगलागी हो । क्यालिफोर्नियाका गभर्नरले आपतकालिन अवस्था घोषणा गरेका छन् ।
जंगलबाट सुरु भएको आगो नजिकै रहेका फार्ममा फैलिएको हो । अहिले आगो निभाउने प्रयास भइरहेको तर तीब्र गतिमा फैलिएकाले समस्या भएको सरकारी अधिकारीले बताएका छन् ।

