काठमाडौं,१ पुसः दर्शकले खचाखच भरिएको डेजा भू क्लबमा बुधबार राति अमेरिकी डिजे मार्समेलोको प्रस्तुति हुने भनिएको थियो । राति एक बजेसम्म पनि मार्समेलो नआएपछि सञ्चालकले डिजे आउन नसक्ने घोषणा गरे । त्यसपछि आक्रोशित भीडले क्लब तोडफोड गरिदियो ।
डिजे मार्समेलोले चाहिँ ‘ज्वरो’ का कारण पर्फर्म गर्न नसक्ने बेहोरा फेसबुक र इन्स्टाग्राममा पोस्ट गरेका थिए । उनले लेखेका थिए, ‘हुन त मैले आउने कोसिस गरेको हुँ तर डाक्टरले नजान निर्देशन दिए । स्वास्थ्य पहिलो हो ।’ क्लबले क्षमताभन्दा बढी दर्शकलाई टिकट बेचेको भन्दै प्रहरीले क्लबका सञ्चालक जयन श्रेष्ठ, मयंक खडका, विशाल डाँगी, मिलन श्रेष्ठ, पृथु बाँस्कोटा, डिजाइनर राजीव महर्जन, क्लबका क्याप्टेन आकाश न्यौपाने र रितेश मारवाडीलाई नियन्त्रणमा लिएको छ ।
डिजे मार्समेलो वास्तवमा को हुन्, कस्ता देखिन्छन् भन्ने कुरो अझै पनि रहस्यकै रूपमा छ । उनी पर्फर्म गर्दा होस् या अरू कुनै सार्वजनिक ठाउँमा, पूरै टाउको ढाक्ने मास्क र सेतै टिसर्ट–पाइन्टमा पुग्छन् । उनी मात्रै नभई चर्चित डिजेहरू डाफ्ट पङ र डिजे डेड माउस फाइभ मास्क लगाएरै पर्फर्म गर्छन् । पङसँग ‘रोबोटको हेल्मेट’ छ भने डेड माउससँग ‘मुसा आकृतिको हेल्मेट’ छ । अनुहार नदेखे पनि मार्समेलोको संगीतको धुनमा भने लाखौं श्रोता मोहित हुने गर्छन् ।
मार्समेलो सन् २०१५ पछि मात्रै एकाएक चर्चामा आएका हुन् । ‘वाभेज’ गायक जेड्सको ‘ब्युटिफुल नाउ’, ज्याक यु को ‘ह्वेर आर यु नाउ’ र अन्य ट्रयाक उनले साउन्ड क्लाउड पेजमा रिलिज गरे । यी गीतको रिमिक्स गरेपछि उनले केही टीकाटिप्पणी सुन्नुपर्यो तर पनि उनको हेभी इलेक्ट्रोनिक डान्स म्युजिकले श्रोतालाई लोभ्यायो । त्यसपछि उनले न्युयोर्कको पियर नाइन्टी फोर, पोमोना, क्यालिफोर्नियाको हार्ड डे अफ द डेड फेस्टिभल र मियामी म्युजिक विकमा प्रस्तुति दिने मौका पाए ।
सन् २०१६ मा आइपुग्दा मार्समेलोले पहिले नै रिलिज भइसकेका ट्रयाकहरूलाई समेटेर ‘जोएटाइम’ एल्बम निकाले । त्यसपछि डिजिटल टप इलेक्ट्रोनिक एल्बमको चार्टमा पहिलो नम्बरमा पर्न सफल भयो । उनले र्यापर ओमर लिङ्सको ‘किप इट मेलो’ पनि एल्बममा समावेश गरेका थिए ।
वर्षभरि एक्लै एल्बम निकाल्ने र कार्यक्रमहरूमा एक्लै पर्फर्म गर्थे उनी । २०१६ मै डिजे म्यागाजिनले सार्वजनिक गरेको ‘हाइएस्ट न्यु इन्ट्री’ मा सय जनाको लिस्टमा २८ औं नम्बरमा परेका थिए उनी । २०१७ मा उनले ओके, नुह साइरस, खालिद र ब्ल्याकवेयरसँग मिलेर गीत निकाले ।
मार्समेलो ‘डटकम’ उपनामले पनि चिनिन्छन् । उनको पूरा नाम क्रिस्टियन कोम्स्टक हो । उनले आफ्नो पहिचान लुकाएर राखेका थिए । १९९२ मे १९ मा अमेरिकाको पेन्सेल्भेनिया राज्यको डेलावर नदी किनारमा रहेको ठूलो सहर फिलाडेल्फियामा जन्मिएका उनी पछि क्यालिफोर्नियाको लस एन्जलसमा बसाइँ सरे ।
उनी खाना बनाउनमा पनि सोख राख्छन् । आफ्नो फेसबुक पेजमा ‘कुकिङ विथ मार्समेलो’ भनेर आफूले खाना बनाउँदै गरेका भिडियोहरू पोस्ट गर्छन्, जसमा उनी मास्क लगाएरै त्यस्तै आकृतिका डेजर्टहरू बनाइरहेका हुन्छन् ।
उनले यसै वर्ष ‘अलार्म’ गीतका लागि ‘बेस्ट युज अफ भोकल रिमिक्स अवार्ड’ समेत पाए । उनको ‘अलोन’ गीत यूएस बिलबोर्डको हट १०० चार्टमा पर्न सफल भयो । यही नोभेम्बरमा उनले गायिका सेलेना गोमेजसँग मिलेर ‘वुल्भ्स’ गीत पनि ल्याए । नोभेम्बरमा युटयुबमा अपलोड गरिएको भिडियोको अहिलेसम्म चार करोड भ्यु नाघिसकेको छ भने ५२ हजारले कमेन्ट गरिसकेका छन् । उनका हालसम्म सिंगल १५, रिमिक्स १८, म्युजिक भिडियो १३ र अन्य चार्टेड गीत ३ वटा सार्वजनिक भएका छन् । आजको कान्तिपुरमा खबर ।

