काठमाडाैं,९ पुस । कालिकोट जिल्लाको पलाँता गाउँपालिका–१ खाडामा भीषण आगलागी हुँदा ८७ घर जलेर नष्ट भएका छन्। आइतबार रातिदेखि लागेको आगोले खाडामा ठूलो क्षति गरेको हो । आगो निभाउने प्रहरी र स्थानीयबासीकफ प्रयास विफल भएको छ। गाउँमा युवाहरू पनि नभएको र पानीको समेत अभाव भएका कारण आगो निभाउने प्रयास असफल भएको हो।
आगलागीमा ७ स्थानीयवासी घाइते भएको गाउँका बासिन्दासमेत रहेकी गाउँपालिका उपाध्यक्ष दानादेवी न्यौपानेले जानकारी दिइन्। आगलागीमा जलेर दुई भैंसी, १४ गोरु र दुई बाख्रा मरेका छन्। आगो नियन्त्रणका लागि नेपाली सेनाको टोली पनि घटनास्थल जाँदैछ। गएराति करिब १० बजेदेखि लागेको आगो सोमबार बिहानसम्म पनि नियन्त्रणमा लिन नसकिएको स्थानीयले बताएका छन्। गाउँको तल्लो छेउमा रहेको नवीन न्यौपानेको घरबाट आगो सुरु भएको पलाँता गाउँपालिकाका अध्यक्ष लक्ष्मण बमले जानकारी दिनुभयाे ।
जिल्ला प्रहरी कार्यालय कालिकोटका निमित्त प्रमूख देवेन्द्रकुमार मल्लले पलाँताको खाडामा आगलागी भएको खबर प्राप्त भएपछि राति साढे दुई बजेतिर पचाल झरना गाउँपालिकामा रहेको प्रहरी चौकी प्रमुख पुष्प कडायतको नेतृत्वमा १६ जना प्रहरीको टोली घटना स्थलतर्फ पठाएको जानकारी दिनुभयाे ।

