काठमाडौं, २० असार– आज हरिशयनी एकादशी पर्व व्रत, पूजा, पाठ गरी मनाइँदैछ । आषाढ शुक्ल एकादशीदेखि भगवान् विष्णु क्षीर सागरमा शयन गर्ने धार्मिक विश्वासमा आज हरिशयनी एकादशी मनाइन्छ ।
ज्येष्ठ शुक्ल एकादशी अर्थात् निर्जला एकादशीका दिन घर घरमा राखिएको तुलसीको दलबाट आजै बिरूवा रोपी चार महिनासम्म विधिपूर्वक पूजा पनि सुरू गरिन्छ ।
कात्र्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिनसम्म भगवान् विष्णु शयन गर्नुहुने भएकाले त्यस दिनसम्म विधिपूर्वक तुलसीको पूजा आराधना गरिन्छ ।
चतुर्मास समेत भनिने यी चार महिनामा तुलसीको पूजा गरे मनकामना पूरा हुने विभिन्न धार्मिक ग्रन्थमा वर्णन गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवम् धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमले जानकारी दिनुभयो ।
असारदेखि कात्तिकसम्म ‘चतुर्मास माहात्म्य’ पाठ गर्ने र कथा वाचन एवम् श्रवण गर्ने परम्परा छ । जेठ शुक्ल एकादशीका दिन बीउ रोपी आजका दिन सारिएको तुलसीलाई छोरीका रूपमा घरमा हुर्काई बढाई हरिबोधिनी एकादशीका दिन दामोदर अर्थात् भगवान् विष्णुसँग विवाह गर्ने गरिएको भनाइ पनि छ ।
वैज्ञानिक रूपमा बढी अक्सिजन दिने भनी प्रमाणित भएको तुलसीलाई आयुर्वे्दिक औषधिका रूपमा समेत उपयोग गरिन्छ । वैदिक कालदेखि नै पिपल, कुश, तुलसी र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक स्वरूप पवित्र मानिन्छ ।

