काठमाडौं, ३० बैशाख– पहिलो चरणको स्थानिय निकायकोे निर्वाचन हुने जिल्लाहरूमा आज मध्यरातिबाट सवारी साधन चलाउन रोक लगाइने भएको छ ।
निर्वाचन आयोगका अनुसार भोली बिहान ७ बजे मतदान सुरु हुने भएपनि आज मध्यरातिदेखि स्थानीय प्रशासनले सवारी साधन सञ्चालनमा रोक लगाउनेछ ।
आज मध्यरातिदेखि निजी तथा सार्वजनिक सवारी साधन सञ्चालन गर्न नपाउने निवाृचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो ।
पास लिएका र अत्यावश्यक सेवाका साधनमात्र चल्न दिइने शर्माले बताउनुभयो । भोली साँझ मतदानपछि पनि मतपेटिका सुरक्षितरूपमा केन्द्रमा पु¥याउनेसहितका काम बाँकी रहने हुँदा राति अबेरसम्म सवारी साधन चल्न नपाउने जनाइएको छ ।
स्थानीय तहको पहिलो चरणको निर्वाचनअन्तर्गत प्रदेश नम्बर ३, ४ र ६ मा मतदान हुन लागेको हो । ३४ जिल्लाका दुई सय ८३ स्थानीय तहमा हुने निर्वाचनमा १३ हजार पाँच सय ५६ पदका लागि ४९ हजार तीन सय ३७ उम्मेदवार चुनावमा अन्तिम प्रतिस्पर्धामा छन् ।
पहिलो चरणमा चार महानगरपालिका, एक उपमहानगरपालिका, ९२ नगरपालिका र एक सय ८६ गाउँपालिकामा निर्वाचन हुनेछ । जसमा ४९ लाख ५६ हजार नौ सय २५ मतदाता छन् । निर्वाचन कार्यतालिकाअनुसार भोली बिहान ७ बजेदेखि अपराहृन ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ ।
यसैबिचः स्थानीय तह निर्वाचनका दिन वैशाख ३१ गते अर्थात भोली साझा यातायात बन्द हुने भएको छ ।
दल विशेषले बन्द गरेका बेला यातायात सञ्चालन गरी यात्रुलाई सुविधा दिँदै आएको साझाले चुनाव सफल पार्ने निर्वाचन आयोगको अभियानमा सहयोग गर्न सेवा बन्द गर्न लागेको निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले जानकारी दिनुभयो ।
२०७० वैशाख १ गतेदेखि पुनः यातायात सेवा सुरु गरेको साझाले संविधानसभाको दोस्रो निर्वाचन २०७० साल मङ्सिर ४ गतेपछि पहिलोपटक वैशाख ३१ मा सेवा बन्द गर्न लागेको हो ।

