आजदेखि दोस्रो चरणको चुनावी कार्यक्रम सुरु, ४३ जिल्लाका मुख्य निर्वाचन कार्यालय खुल्ने – आयोग

काठमाडौं, ६ जेठ– जेठ ३१ गते हुने दोस्रो चरणको निर्वाचनको कार्यक्रम आजदेखि सुरु हुने भएको छ । निर्वाचन आयोगले दोस्रो चरणको निर्वाचनका लागि ४३ जिल्लामा रहेका मुख्य निर्वाचन कार्यालय पूर्ण रूपमा सञ्चालनमा ल्याउँदै दोस्रो चरणको निर्वाचनको कार्यतालिका कार्यान्वयनमा ल्याउन लागेको हो ।
दोस्रो चरणमा प्रदेश नम्बर १, २, ५ र ७ गरी चार प्रदेशका ४३ जिल्लाका ४६१ स्थानीय तहमा निर्वाचन हुँदैछ । चार प्रदेशमा हुने निर्वाचनमा रुकुम र नवलपरासी जिल्ला दुई प्रदेशमा परेपछि दोस्रो चरणको निर्वाचनमा ४३ जिल्लामा निर्वाचन हुन लागेको हो ।
आजदेखि ४३ स्थानमा रहेका मुख्य निर्वाचन अधिकृतको कार्यालयहरू पूर्ण रूपमा सञ्चालनमा आउने र जेठ १५ बाट निर्वाचन अधिकृतको कार्यालय पनि सञ्चालनमा आउने आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो ।
रुकुम र नवलपरासी जिल्लामा पहिलो चरणमा नियुक्त गरिएका मुख्य निर्वाचन अधिकृतलाई नै दोस्रो चरणका लागि पनि कायम राखिएको छ । पहिलो चरणमा ३४ जिल्लामा निर्वाचन सम्पन्न भइसकेको छ भने दोस्रो चरणमा ४३ जिल्लामा निर्वाचन हुँदैछ ।
यस निर्वाचनमा १२ उपमहानगरपालिका, १५६ नगरपालिका र २९३ वटा गाउँपालिकामा निर्वाचन हुन लागेको हो ।
निर्वाचन कार्यक्रमअनुसार जेठ १९ गते उम्मेदवारको मनोनयन र जेठ २२ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम छ ।
यस निर्वाचनमा ९० लाख ९७ हजार ५५७ जना मतदाताले मताधिकार प्रयोग गर्नेछन् । दोस्रो चरणको निर्वाचनमा ११ हजार ९३१ वटा मतदान केन्द्रमा मतदान गर्ने आयोगको तयारी रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here