अन्तरजातिय विवाह गर्दा जिउँदै जलाइदिए,पत्नीको मृत्यु,पति गम्भीर

एजेन्सी । रुक्मिणी रणसिंघे १९ वर्षकी मात्रै थिइन् । ६ महिना पहिले उनले जुन युवकलाई माया गर्थिन्, उसैसँग विवाह गरेकी थिइन् । तर, उनको विवाहको फैसलामा उनको माइती पक्षको सहमति थिएन । रुक्मिणी र उनका पतिको जात मिल्दैनथ्यो । यो विषयको बेखुसी परिवारमा यति धेरै बढ्यो कि एक दिन रुक्मिणीका पिता, काका र मामाले मिलेर उनी र उनका पतिलाई जिउँदै जलाइदिए । आफ्नो परिवारको रिसको मूल्य रुक्मिणीले आफ्नो ज्यान दिएर चुकाउनुपर्यो ।

भारत महाराष्ट्रको अहमदनगरको परनेर तालुकास्थित निक्सोज गाउँमा यो घटना भएको हो । ६ महिना पहिले रुक्मिणी र मंगेश रणसिंघेको विवाह भएको थियो । रुक्मिणीले पिता र अन्य परिवारवाला यो विवाहको खिलाफमा थिए । तर, मंगेशको परिवारका सदस्यले यो सम्बन्ध स्वीकार गरेका थिए । त्यसैले विवाह भएको थियो । रुक्मिणीका देवर महेश रणसिंघेले बीबीसीलाई बताएअनुसार विवाहमा रुक्मिणीका तर्फबाट उनकी आमा मात्रै आएकी थिइन् । महेशले भने, ‘‘विवाहपछि पनि रुक्मिणीको माइतीपक्षका मानिसले यो सम्बन्धको विरोध गरिरहेका थिए । रुक्मिणी र मंगेशलाई कुनै सडकमा देखे भने पनि त्यहाँ उनीहरुलाई धम्की दिइन्थ्यो । यसबाट हैरान भएर रुक्मिणी र मंगेशले यही वर्षको फेब्रुवरी महिनामा प्रहरी थानामा उजुरी पनि दर्ता गरेका थिए ।’’

यही तनावको माहौल भएको बेलामा रुक्मिणीका आमाबाबुले ३० अप्रिलको दिन उनलाई माइतमा बोलाएका थिए । माइत गएपछि उनलाई त्यहाँ पिटियो । सोही रात रुक्मिणीले आफ्ना पति मंगेशलाई फोन गरेकी थिइन् । फोनमा उनले आफूलाई पिटिएको कुरा पनि बताएकी थिइन् । रुक्मिणीले मंगेशलाई आएर आफूलाई लिएर जान आग्रह गरेकी थिइन् ।
दोस्रो दिन अर्थात् मे १ को दिन मंगेश रुक्मिणीलाई लिन ससुराली घर पुगेका थिए । त्यो समयमा उत्तर प्रदेशमा रहने रुक्मिणीका काका र मामा पनि त्यहाँ पुगेका थिए । त्यो दिन रुक्मिणीको विवाहलाई लिएर घरमा ठूलो झगडा भयो । उनीहरुले रुक्मिणी र मंगेश दुवैलाई पिटे र डोरीले बाँधिदिए ।

यसपछि उनीहरुले पेट्रोल छर्केर आगो लगाइदिए । उनीहरुले नवदम्पतिलाई आगो मात्रै लगाएनन्, बाहिरबाट घरको ढोका पनि बन्द गरिदिए । महेश रणसिंघेका अनुसार घरबाट निस्किएको दर्दनाक आवाज छिमेकीको कानसम्म पुगेपछि स्थानीय घटनास्थलमा पुगेका थिए । उनीहरुले एम्बुलेन्स बोलाए  र रुक्मिणी तथा मंगेशलाई पूणे लिएर गए । त्यतिबेला दुवैको स्वास्थ्य अवस्था गम्भीर भइसकेको थियो । रुक्मिणीको शरीरको ६० देखि ६५ प्रतिशत भाग जलिसकेको थियो । स्थानीय ससून अस्पतालका चिकित्सक अजय तवारेले बीबीसीलाई बताएअनुसार मंगेशको उपचार अहिले चलिरहेको छ तर उनको पनि शरीरको ४० देखि ४५ प्रतिशत भाग जलेको छ ।

रुक्मिणीको घरको नजिक रहने सञ्जय बेदीले भने, ‘‘घरबाट धुवाँ उडिरहेको थियो । तर, ढोका बन्द थियो । हामीले ढोका फुटाइदियौं । त्यसपछि अवस्था देखेर एम्बुलेन्सलाई फोन गर्यौं ।’’परिवारका बारेमा वेदीले आफूलाई धेरै कुरा जानकारी नभएको बताएका छन् । उनका अनुसार सो परिवार उत्तर प्रदेशबाट आएको हो र अघिल्ला ८ महिनादेखि त्यहाँ बस्दै आएको थियो ।

काका र मामा गिरफतार, बाबु फरार
परनेर प्रहरी थानाले यो घटनालाई लिएर रुक्मिणीका मामा घनश्याम र काका बिल्लू पंडित समेत भनिने सुरेन्द्र बाबुलाललाई पक्राउ गरेको छ । अतिरिक्त प्रहरी अधिक्षक मनिष कलवानियाले आफूहरुले रुक्मिणीका पिता रामा रामफल भारतीयको खोजतलास गरिरहेको बताए । घटनास्थलबाट प्रहरीले पेट्रोलको १ बोतल तथा अन्य सामानहरु पनि बरामद गरेको छ । अनुसन्धान अझै चलिरहेको प्रहरीले जनाएको छ । रुक्मिणीका देवर महेशले प्रहरीले बेवास्ता गर्दा आफ्नो परिवारले अहिलेको अवस्था भोग्नुपरेको आरोप लगाए ।

उनले भने, ‘‘हामीले निक्सोज र परनेर प्रहरी थानामा उजुरी दर्ता गरेका थियौं । रुक्मिणीको माइतीपक्षले मंगेश र रुक्मिणीलाई धम्की  दिइरहेका थिए । फेब्रुवरीमा हामीले प्रहरीलाई धम्कीको बारेमा बताएका थियौं । यो घटना भन्दा ठीक पहिला पनि लगातार धम्की आएको हामीले बताएका थियौं ।’’ महेशलाई अब आफ्ना दाजुभाउजुका हत्यारालाई कारवाही हुने र आफूहरुले न्याय पाउने आशा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here