अध्यक्ष दाहाल र नयाँ शक्ति पार्टीका संयोजक डा.भट्टराईबीच यस्तो छलफल

काठमाडौं, २४ साउन– नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल  र नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईका बीच वर्तमान राजनीतिक परिवेशबारे मंगलबार गम्भीर छलफल भएको छ ।

मध्यपुरथिमि, गठ्ठाघरस्थित नागरिक कम्युनिटी अस्पतालमा गत शुक्रबार प्रोष्टेट ग्ल्याण्ड मूत्रथैलीको शल्यक्रिया गरी उपचारमा रहेका डा. भट्टराईको स्वास्थ्य अवस्था बुझ्न मंगलबार अपराह्न अस्पताल पुगेका दाहालले भेटका क्रममा गम्भीर छलफल भएको उल्लेख गर्दै छिट्टै एउटा नयाँ छलफलको प्रक्रिया प्रारम्भ हुने विश्वास ब्यक्त गरे ।

पूर्वप्रधानमन्त्री दाहालले पूर्वप्रधानमन्त्री डा भट्टराईको उपचारमा संलग्न चिकित्सकसँग स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै शीघ्र स्वास्थ्यलाभको कामना गरेका थिए । शल्यक्रियामा संलग्न प्रा डा राकेश बर्मासँग करिब १५ मिनेट जानकारी लिएपछि दुवै नेताबीच करिब आधा घण्टो छुट्टै छलफल भएको थियो ।

अस्पतालमा उपचार गराइरहेका डा भट्टराईसँगको भेटपछि अध्यक्ष दाहालले उपचारको क्रम चलिरहेको रस्वास्थ्यमा क्रमिक सुधार भइरहेको चिकित्सकको भनाइ रहेको उल्लेख गर्दै छिट्टै घर फर्किने विश्वास व्यक्त गरे ।

करिब एक वर्षदेखि नियमित रुपमा डा भट्टराईको मूत्रथैलीको परीक्षण आफूले गरिरहेको बताउँदै प्रा डा बर्माले हाल पिसाबमा बढी खराबी आएका कारण शल्यक्रिया गरिएको बताउनुभयो । शल्यक्रियापछि तीन दिनसम्म पिसाब नलीमा पाइप राखेर मंगलबार बिहान निकालिएको अस्पतालको मेट्रोन सुन्दरी जोशीले जानकारी दिए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here