जोकोभिच र सेरेनाको दाबी सुरु

माघ ५, २०७३- नोभाक जोकोभिच र सेरेना विलियम्सले प्रभावशाली जितसँगै मंगलबार अस्ट्रेलियन ओपन टेनिसमा आफ्नो उपाधि दाबी सुरु गरेका छन् । इभो कार्लोभिचले पनि ७५ एसको खेल खेलेका छन् । भर्खरै मात्र शीर्ष वरीयता गुमाएका जोकोभिच र सेरेना दुवैले कठिन प्रतिद्वन्द्वी पाए पनि जित भने सहजै निकाले । दुवैको जित क्रमश: स्पेनका फर्नान्डो भरडास्को र स्विट्जरल्यान्डकी बेलिन्डा बेनचीमाथि सोझो सेटमा थियो । स्पेनी राफेल नाडाल पनि दोस्रो चरण पुग्ने खेलाडीमा रहे ।

क्रोएसियाका कार्लोभिचले भने ५ घन्टा १५ मिनेट चलेको म्याराथन खेलमा अर्जेन्टिनी होरासिओ जाबेलोसलाई ६–७, ३–६, ७–५, ६–२, २२–२० ले हराए । यस क्रममा कार्लोभिचले सन् २००५ मा थोमस जोहान्सनले अस्ट्ेरलियन ओपनमा बनाएको ५१ एसको कीर्तिमान तोडे । टाइब्रेकको नियम सुरु भएयता ८४ गेम चलेको कीर्तिमान पनि बन्यो । यसअघि सन् २००३ मा एन्डी रोडिकले युनेस उल अयनोईलाई ८३ गेम चलेको खेलमा हराएका थिए । यो टेनिसको इतिहासमै समयका आधारमा सबैभन्दा लामो खेल रह्यो ।

तर यसले सन् २०१२ मा जोकोभिच र नाडालबीचको खेलको समय कीर्तिमान भने तोड्न सकेन । त्यति बेला उनीहरूले ५ घन्टा ५३ मिनेट खेलेका थिए । यता सर्वियाली जोकोभिचले भने आफू फेरि लयमा फर्केको प्रमाण पेस गर्दै भरडास्कोलाई ६–१, ७–६, ६–२ ले पराजित गरे । दिनको खेलमा भने प्रचण्ड गर्मी छल्दै अमेरिकी सेरेनाले बेनेचीलाई ६–४, ६–३ ले पन्छाए । यस्तै नाडालले भने जर्मनीका फ्लोरिन मेयरलाई ६–३, ६–४, ६–४ ले पराजित गरे ।

‘मेरो खेलजीवनमा अब मैले गुमाउनु केही पनि छैन । म प्रत्येक खेल र प्रतियोगिता आफ्नो खुसीका लागि खेलिरहेको छुं,’ सेरेनाले खेलपछि भनिन् । सेरेनासामु आधुनिक टेनिसमा स्टेफी ग्राफले जितेको २२ ग्रान्ड स्लाम उपाधिको कीर्तिमान तोड्ने अवसर हुनेछ । अब उनले लुसी साफारोभाको सामना गर्नेछिन् । पुरुषतर्फ विश्व नम्बर ३ क्यानडाका मिलोस राओनिच जर्मनीका डस्टिन ब्रोनलाई ६–३, ६–४, ६–२ ले पराजित गर्न सफल रहे ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here