काठमाडाैं,१४ असाेज । कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा संलग्न भएको आशंका गरिएका निलम्बित एसपी डिल्लीराज विष्टसहित तीनै जनाको डीएनए रिपोर्ट नेगेटिभ आएको छ ।
एसपी विष्टका छोरा किरण र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आयुष विष्टको डीएनए ’भेजिनल स्वाब’मा भेटिएको डीएनएसँग मेल नखाएको प्रतिवेदन आएको हो ।
प्रहरीले मुख्य अभियुक्तका रूपमा उभ्याएका दिलीपसिंह विष्टको डीएनए म्याच नभएसँगै उनीहरु तीनजना माथि नै शंका गरेर परिक्षण गरिएको थियो । योसँगै निर्मला हत्या घटना थप पेचिलो बनेको छ । कञ्चनपुरसहित बिभिन्न जिल्लामा आन्दोलन सुरु भएको छ ।
प्रहरीको फोरेन्सीक ल्याबमा गरिएको तीनैजनाकै डीएनए परिक्षणमा कसैको पनि स्याम्पल ’स्वाब’मा भेटिएको डीएनएसँग मेल नखाएको रिपोर्ट ल्याबले शुक्रबारनै जिल्ला प्रहरी कार्यालय कञ्चनपुर पठाएको थियो ।
प्रहरी प्रधान कार्यालयका उच्च अधिकारीका अनुसार घटनाबारे अनेकन तथ्य आएका छन् तर त्यसलाई पुष्टि गर्ने आधार कतैबाट जुट्न सकेको छैन ।
सरकारले कञ्चनपुरकी १३ वर्षीया निर्मलाको बलात्कारपछि हत्याको घटनाको छानबिन गर्न यसअघि संलग्न प्रहरी अधिकृतहरूको भूमिकामाथि अनुसन्धान गर्न एआईजी धिरु बस्नेतको संयोजकत्वमा समिति गठन गरेको छ ।

