८७ वटा फाइल हेर्दा ७५ करोड अनियमितता !

काठमाडौं, ३० जेठ – कर फर्स्यौट आयोगको कामकारबाहीका क्रममा भएको अनियमितताको फाइल खुल्नासाथ अनियमितताको ‘ग्राफ’ ७५ करोड रुपैयाँ नाघेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले करिब १० दिनको अवधिमा छानबिन गर्दा मूल्य अभिवृद्धि कर ९भ्याट० मा मात्रै कम्तीमा ७५ करोड रुपैयाँ अनियमितता भएको खुलासा भएको हो ।

‘अहिलेसम्मको अवस्था हेर्दा भ्याटमा मात्रै कम्तीमा पनि ७५ करोड रुपैयाँ अनियमितता भएको देखिन्छ,’ अख्तियार स्रोतले भन्यो, ‘अनुमान गरेभन्दा निकै ठूलो आकारमा भ्रष्टाचारको आरोपपत्र तयार होला जस्तो छ ।’ कर निर्धारणमा भएको अनियमितता छानबिनका क्रममा असहयोग गरेको आरोपमा १० दिनअघि आन्तरिक राजस्व विभागका महानिर्देशक चूडामणि शर्मा पक्राउ परेयता अख्तियारले ८७ वटा फाइल खोलिसकेको छ ।

कर फर्स्योटका क्रममा एक हजार ७९ फाइल तयार भएकोमा करिब हजार फाइल अझै अख्तियारमा पुगेका छैनन् । ८७ वटा फाइल हेर्दा नै भ्याटतर्फको अनियमितताको आकारले एक अर्ब रुपैयाँ छुन लागेको हो । निर्माण व्यवसायीलाई दिइएको छुटका कारण भएको अनियमितता मात्रै करिब २१ करोड रुपैयाँ छ । हालसम्म एक करोडभन्दा बढीका ८७ वटा फाइल अख्तियारमा ल्याइसकिएको छ ।

अब खुल्नुपर्ने फाइल भने एक करोड रुपैयाँभन्दा सानो आकारका छन् । बाँकी रहेका फाइलमा भएको अनियमितताको आकार अधिकतम १० अर्ब रुपैयाँसम्म हुन सक्नेछ । पहिलो चरणमा एक करोड रुपैयाँभन्दा ठूलो आकारका फाइलको छानबिन चलिरहेको छ ।
आजको कान्तिपुरमा खबर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here